काठमाडौँ, ३० जेठ – सर्वोच्च अदालतले अवकाशको तीन महिनापछि उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातलाई पुनर्बहाली गर्न न्याय परिषद्लाई परमादेश जारी गरेको छ ।
उमेर विवादका कारण सच्याइएको उमेरबाट गत फागुन १८ गते अवकाश पाएका बस्न्यातले अब उच्च अदालतमा असार १९ गतेसम्म काम गर्न पाउने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।
बस्न्यातको पुनर्बहालीसँगै सर्वोच्चले भावी प्रधानन्यायाधीशको कार्यकाल विवादले पनि कानुनी रूपमा नयाँ नजिर स्थापित गरेको छ । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश गोपाल पराजुली र बस्न्यातको उमेर विवाद एकै प्रकृतिको छ । न्याय परिषद् ऐनको व्यवस्थालाई अदालतले व्याख्या गरेसँगै पराजुलीको कार्यकालको विवाद पनि कानुनी रूपमा नै सकिएको छ ।
सर्वोच्चले बस्न्यातको उमेर सच्याउने न्याय परिषद्का तत्कालीन अध्यक्ष सुशीला कार्कीको निर्णय कानुनविपरीत भन्दै बदर गरेको हो । आइतबार न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले रिट जारी गर्दै कार्कीको निर्णय बदर गरेको हो ।