काठमाडौं २५ वैशाख – विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी तीन मन्त्रीले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
विजयकुमार गच्छेदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जीतेन्द्रनारायण देवले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र गोपाल दहितलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। केही दिन अगाडि राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदार सरकारमा गएका हुन्। नेपाल लोकतान्त्रिक फोरमले सरकारमा राप्रपाले सम्हालेका मन्त्रालय नै पाएको छ।
सरकारमा सहभागी हुन सुरुदेखि नै पहल गरे पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गच्छदारलाई सरकारमा लैजान नहुने अडान र मन्त्रालयका विषयमा भागबन्डा नमिल्दा उनी सरकारमा सहभागी भएका थिएनन्। प्रधानन्याधीशमाथि महाअभियोग लगाएको विषयमा असन्तुष्टि जाहेर गर्दै राप्रपा सरकारबाट बाहिरिएको थियो।
नेपाली सत्ता राजनीतिको सदावहार खेलाडी विजयकुमार गच्छदार १३ औं पटक सरकारमा सहभागि भएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार नेपालमा सबभन्दा धेरै पटक मन्त्री बन्ने ‘भाग्यमानी’ नेता हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा गच्छदार प्रचण्ड सरकारमा सहभागि भएका हुन् । स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएलगत्तै सरकारको नेतृत्व परिवर्तन गर्न प्रमुख दुर्इ दल नेपाली कांग्रेस र माअाेवादी केन्द्र सहमत भइसकेका छन् ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश भएका गच्छदार तीन पटक उपप्रधानमन्त्री बनिसकेका छन् । २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र ०५५ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदार निर्माण तथा याताथाय मन्त्री थिए । २०५६ सालमा बनेको कृष्णप्रसाद भट्टरार्इ नेतृत्वको सरकार र २०५८ सालमा बनेको देउवा नेतृत्वको सरकारमा गच्छदार जलस्रोत मन्त्री थिए ।
२०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकार र ०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री बनेका थिए । २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं गृहमन्त्री बनेका थिए ।
२०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । प्रचण्ड सरकारमा उनी उपप्रधान सहित स्थानीय विकास मन्त्री बनेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय उनको मुख्य रोजाइको मन्त्रालय हो । मन्त्री बनेको समयमा गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा १४ वटा पुल पारेका थिए । मधेश केन्द्रीत दलका नेताहरु गच्छदारलाई सत्ताका लागि गच्छदार ‘पानी बिनाको माछो’को संज्ञा दिन्छन् ।
सत्ताका लागि मरिहत्ते गरेको भन्दै पहिलो संविधान सभाको कार्यकालमा संसदको बैठकमै मधेश केन्द्रीत दलका नेताले गच्छदारलाई ‘लोक सेवा पास गरेको मन्त्री’ को संज्ञा दिएका थिए । लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका गच्छदार २०६४ सालको चुनावको पूर्वसन्ध्यामा गच्छदार मधेशी जनअधिकार फोरममा प्रवेश गरेर चुनाव जितेका थिए ।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागिता जनाउन गच्छदारले फोरम विभाजन गरेर लोकतान्त्रिक फोरम गठन गरेका थिए । २०७० को चुनावमा नेकपा एमालेकी उम्मेदवारसँग झिनो मतअन्तरले विजयी भएका गच्छदार केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए ।
Previous Articleबहिनीलाई सघाउन नेपाल अाइन नायीका विपना
Next Article रियल र बार्सिलोनाको उपाधि होड रोमाञ्चक