काठमाडौं, १७ वैशाख – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् ।
‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ,’ कांग्रेस नेता विश्वकर्माले भने । कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनले गत २०७३ असार २७ गते कार्यभार सम्हालेकी थिइन् ।
न्यायपरिषदले गरेको ८० न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयको विरोधमा लोकतान्त्रिक खेमाको बहुमत रहेको नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलन नै थालेको थियो ।
प्रदेश नम्बर २ का कानुन व्यवसायीहरुको भेलाले उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति खारेजीको माग गर्दै प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउन मागसमेत गरेको थियो ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता
Previous Articleहिमाल र सुर्योदय हेर्न पञ्चासेमा पर्यटक बढ्दै
Next Article गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा