चेतना भया
भरत बागलुङे
कहिलेकाहिँ स्तम्भ लेख्न बस्दा किन किन किबोर्डमा औँलाहरु चल्नै मान्दैनन् । ती स्थिर र थप्प बसिदिन्छन् । मनमा उठेका विचारका सुनामीहरु ती एकाएक हराउन पुग्छन् र पीडाका उफानहरु उठ्न पुग्छन् । पीडाले आक्रान्त हुन पुग्छ मन र आँखा अगाडि सादृष्य हुन आउँछन् अथाह दुःखले व्याकुल ती मान्छेहरु जो पुर्खौली दुःख र आँसुको इतिहास बनाएर यो धरामा मुक्तिको आशामा बाँचिरहेका छन् । शासकका खुशी नै तिनका खुशी । शासकका पीडा नै तिनका पीडा ती जीवनका नाउँमा यातना भोगी रहेका छन् । जीवनको नाउँमा ती दुःख र पीडा खेपी रहेका छन् । साँच्चि एकबारको नाथे चोला तिनको लागि बाँच्नु पनि अपराध र मर्नु पनि अपराध साबित भईरहेको छ । अफशोच !
तिनै मान्छेको धरामा उभिइरहेको छु तिनकै समिप । भर्खर मिडियामा खवर आयो पूर्व राष्ट्रपति रामवरण यादब सामान्य स्वास्थ्य समस्याको कारण राज्यको लाखौँ रुपियाँ बोकेर अमेरिकातिर उडे रे ! जीवनमा एउटा सपना म सँग आजपर्यन्त छ रामवरण यादवको पछाडी उभिएर फोटो खिच्ने । किनकी उनी मेरो मनमा जीवित थोरै असल नेतामध्येका एकनेता हुन् । जसले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डता तथा पहिचानलाई गौरवसाथ मनले सम्मान गरेका छन् । यो मेरो मनको एक छेउमा जीवित मेरो विश्वास थियो । तर कहिलेकाहिँ स–साना कुराले पनि मान्छेले आफुले जीवनको लामो आयु दिएर कमाएको प्रतिष्ठालाई किन क्षण भङ्गुर तुल्याइदिन्छन् ? यतिबेला म सोचिरहेको छु । रामवरण यादवप्रतिको नागरिकको श्रद्धा सामाजिक सञ्जालका भित्तामा पढि रहेको छु ती भनिरहेका छन् यो धरामा छेराउटी लाग्दा एक पुरी जीवन जल नपाएर सयौँ नागरिकले अकालमा जीवनबाट हात धोइरहेका छन् । सामान्य ज्वरो आउँदा सिटामोलको एक गोली नपाएर मर्नेहरु पनि छन् र सामान्य घाँस दाउरा गर्दा काटिएका घाउमा लगाउने मलम नपाएर सन्निपात भएर शरिर कुहिएर मर्नेहरु पनि छन् । त्यतिखेर ती लाखौँ नागरिकप्रति राज्य किन जिम्मेवार बन्न सक्दैन या चाहँदैन ? मेरो मन यहि प्रश्नले खियाईरहेको छ । मेरो मनमा इश्वरको रुपमा दर्ज पूर्व महामहिमले किन ती नागरिकप्रतिको सद्भाव र प्रेमलाई बलात् लात हानेर चिल गाडीको सयर गरी ती विदेशी अस्पतालतिर कुदे ? के मुलुकमा अस्पताल छैनन् ? के डाक्टर छैनन् ? गरिबका लागि महङ्गा र तिनका हैसियत नभएका अस्पताल र राज्यका व्यभिचारी भ्रष्टाचारीसँगको मिलिभगतमा डाक्टर बनाइएका दुईनम्बरी बाहेक यहाँ सक्कली डाक्टर पनि त जीवित छन् । विडम्बना राज्यका नागरिकका भोका नाङ्गा र विरामीले आक्रान्त शरिरमास्थेर टेकेर महामहिमहरु विदेश दुगुरी रहेका छन् ।
यहि मेसोमा अर्का महामहिम खड्ग प्रसाद ओली ती पनि नियमित चेकजाँचको नाउँमा मुलुक बाहिर छन् । देशमा हरेक दिन यात्रारत नागरिक गाडी दुर्घटनामा परेर दर्जनौँको सङ्ख्यामा अकाल मरिरहेका छन् । दर्जनौँ नागरिक घाइते र अङ्गभङ्ग भएर छटपटाईरहेका छन् । तर मुलुकको मन्त्रिपरिषद नागरिकको दुःखमा शोकप्रस्ताव पारित गरेर नेताहरुलाई राज्यको ढुकुटीबाट लाखौँ रुपैयाँ उपचार खर्च दिने निर्णय गर्छ । सिन्डिकेट र मनपरीतन्त्रले गाँजेको यातायात क्षेत्रमा सरकार हुनुको आभाष नागरिकलाई कहिल्यै भएन । गुण्डागर्दी र मनपरी तन्त्रले हरेक दिन नागरिक प्रताडित बनिरहेका छन् । नागरिक पीडाका बाँसुरी बजाएर सिंहदरवार छिरेका निरोहरु ती बाँसुरीमा दुःखका हैन उन्माद, खुशी र सत्ता सुखका मालसिरी बजाएर सडकमा सम्पन्नताको हाट बजार थापिरहेका सुन्दरीहरुलाई नियालीरहेका छन् । दस–दस वर्षसम्म यो मुलुकका कुना काप्चा र दुःखीजनका झुप्रा–झुप्रा र बुकुरामा अलिनो तिहुनसँग मकैको ढिँडो खाएर थाङ्नामा सुतेकाहरुले ती दुःखी मनुवाहरुका जीवनका आयाम बदल्ने नाउँमा गरेको संघर्ष, त्याग, समर्पण, युद्ध त्यो सम्मानजनक छ तर नागरिकले मात्र त्यसको सम्मान गर्नुपर्ने पञ्चायती या राणाकालीन मान्यताबाट उनीहरु पनि काँग्रेस या एमाले गणजसरी मुक्त हुन नसक्नु दुःखद कुरो हो । दसवर्षसम्म दुःखीहरुसँग बाँचेकाहरुलाई यो शान, शौकात र बसाउने चामलको भात खाइरहुन्जेल हिनताबोध या मुटुको कुनै छेउमा चसक्क दुख्छ या दुख्दैन होला ? ती ढिंडो पेटभर खान नपाउने दुःखी मनुवाको रक्तविहिन चेहेराको स्मरणमा ती संवेदनशील बन्छन या बन्दैनन् ? महामहिमहरुलाई लाखौँ राज्यकोषको ढुकुटी दिने निर्णय लेख्ने र सही गर्ने हातहरुलाई यो धराका ती तन्नामहरुको याद आयो या आएन होला ? महँगी, अभाव, कालो बजारी, ढिलासुस्ती, ढाँटछल, भ्रष्टाचार ती यथावत् छन् परम्परागत बग्गीमा ती शयर गरिरहेकै छन् तिनको समूल नष्ट गर्ने कसम खानेहरु सत्ताको मुहुनीदार कुर्सीमा बसेर तिमी तिनलाई देखिरहेका छौ ? या छैनौ ?
सडकको किनारामा उभिईरहेको छु । अगाडि जेब्राक्रस लमतन्न सडकमाथी सुतिरहेको छ । र छेउमै जेब्राक्रसबाट बाटो काट्ने आकांक्षा पालेर हातमा महानगरिय सन्ध्याकालीन पत्रिकाको बिटो बोकेर उभिईरहेको किशोरलाई सोध्छु तिमी स्कुल जाँदैनौ बाबु ? ना ! दाई हामी गरिबले कहाँ पढ्न पाउनु आमा अस्पतालमा छिन् मृगौला बिग्रेर म पत्रिका बेच्छु र तिनलाई ओखती किन्छु अनि बहिनी भाइ पनि पाल्छु । बा टिभी लागेर मरे । उसको कुरोले मेरो मन खिन्न बन्छ एउटा पत्रिका सहयोग स्वरुप किनी दिन्छु पाँच रुपैयाँ तिरेर । त्यसको मुख्य समाचार त्यही छ महामहिमको विदेश यात्रा उपचार खर्चवापत राज्यको लाखौँ रकम उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय । मुलकभर सडक दुर्घटनामा दर्जनौँ नागरिकको मृत्यु, दर्जनौँ घाइते स्थानिय अस्पतालमा मृत्यु कुर्दै । भूकम्प पीडितको व्यथा उस्तै बालबालिकाहरुले पोषिलो आहार खान नपाएर कुपोषणका शिकार बन्दै । विद्यालय नबन्दा पढाईबाट बञ्चित । अनि भूकम्पपछि बेश्यावृति र चेलीबेटी बेचविखनमा उल्लेख्य वृद्धि । बालुवाटार बैठकमा देशको संविधान संशोधन गर्न भारतको इसारा र चाहनालाई भित्र्याइएको विषयमा दलहरुबीच हात हालाहाल । बैठक बिना निष्कर्ष सकियो । बस् ! सन्ध्याकालीनको यो समाचारले मेरो देशको बेथिति र मेरो देशका अगुवाहरुको मुलुक र नागरिकप्रतिको संवेदना, सच्चाई, कर्तव्य, र उत्तरदायित्व एकसाथ सडकमा छताछुल्ल पारिरहेको आभाष हुन्छ । हामी त्यस्तो देशका नागरिक हौँ जहाँ हामी जीवनको कठिन अभिषप्त समय व्यतित गर्न बाध्य छौँ । थाह छ यी व्यक्तिवादी सोच बोकेर राजनीतिलाई कमाउने पेशा बनाउने पाखण्डी हुन् तर अन्तिम सत्य भोट तिनैका नाउँमा दान गरिरहनु परेको हुन्छ । न महत्वकांक्षा, न इख, न सपना, न आत्माविश्वास, न उत्तरदायित्व, न इरादा, न लक्ष्य, न शाहस, न सिक्ने जाँगर, न सिकाउने जाँगर अहो ! मुलुक चलिरहेको छ रामभरोसा । के यसरी हामी सधैं लोकतन्त्र, गणतन्त्र, नागरिक हकका लोरी गाएर मात्र समुन्नत जीवन समुन्नत र स्वाभीमानी राष्ट्रको नागरिक भएर बाँच्न सक्छौँ या पाउँछौँ । छब्बिस वर्षमा चौबीस सरकार बनाउने मुलुकका विधाताले के हामीलाई कहिल्यै यो धरामा मान्छे हुनुको आभाष देलान् ? भोक, रोग, अभाव, दलन, शोषण यथावत् भएको र जीवनको नाउँमा पलपल मरिरहेकाहरुको यो धराको एउटा सुदुर कुनोमा उभिएर हेरिरहेको छु । कस्तो विडम्बना !
नागरिक लालमोहर छाप भएर यसरी नै हामी रौसी, मासु, भाषाण, त्रास, डर र लालचमा भोट दान गरिरहने हो भने बदलिन सक्ने छैनन हाम्रा जीवनका सपना, चाहना र आयामहरु । चेतना भया !
Previous Article१६ भदौ २०७३, ढोरपाटन दैनिक
Next Article सुरुङ मार्ग बनाउन १८ अर्ब सहयोग