काठमाडौं, ४ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनाव जुनसुकै हालतमा वैशाख ३१ मै गर्ने बताएका छन् । चुनावबारे आशंका बढ्न थालेपछि प्रतिपक्षी एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सोमबार प्रधानमन्त्री दाहाललाई फोन गरी ‘सरकारले गर्न खोजेको के हो ?’ भनी जिज्ञासा राखेका थिए ।
‘प्रधानमन्त्रीले कुनै हालतमा चुनाव नरोकिने एमाले नेतासँग प्रतिबद्धता गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई नेताबीच भएको टेलिफोन कुराकानीबारे जानकारी दिँदै भने, ‘वैशाख ३१ गते नै चुनाव हुन्छ ।’
पछिल्लो समय सत्तारूढ र विपक्षी दलका नेताबीच औपचारिक संवाद भएको छैन । सरकारमै रहेका मन्त्रीहरूले समयमै चुनाव हुनेबारे द्विविधायुक्त अभिव्यक्ति दिन थालेपछि एमाले नेताले चासो दिएका हुन् ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले चुनाव बहिष्कार गर्ने कार्यक्रम घोषणा गरिसकेको सन्दर्भमा चुनाव हुने/नहुने अन्योल बढिरहेको छ । कांग्रेसभित्रका मधेसी नेताले पनि विशेष गरी प्रदेश नम्बर २ मा चुनाव हुने सम्भावनाप्रति आशंका व्यक्त गर्दै मधेसी दलका माग सम्बोधन हुनुपर्ने धारणा राखिरहेका छन् ।
कुनै पनि हालतमा वैशाख ३१ मै चुनाव – प्रधानमन्त्री
Previous Articleराष्ट्रपति भण्डारीलाई विमानस्थलमा राज्यमन्त्रीको स्वागत
Next Article लन्डनमा एसिड आक्रमणबाट बाह्र जना घाइते