प्रकाश थापा-चैत्र वैशाखको महिनामा फुल्ने आकर्षक गुराँसका फुलहरुले जो कोहीको पनि मन, मुटु र मस्तिष्क छुन्छ । साधारणतया १४०० मिटर देखि ३६०० मिटर उचाइसम्म हुने यी गुराँसका प्रजातिहरुले पहाडी क्षेत्रलाई रमाइलो बनाइरहेका छन् । चैत्र वैशाखको महिनामा पहाडी भेगहरु विभिन्न प्रजातिका गुराँसका फुलहरुले बेहुली झैं सिंगारिएका हुन्छन् । गुराँसका फुलले बाटो हिड्ने सबैलाई मोहित पारेका पनि छन् ।
विश्वभर एक हजार चौविस प्रजातिका गुराँसहरु पाइने भए पनि नेपालमा ३२ प्रजातिका गुराँसहरु पाइन्छन् । नेपालको पूर्वी भूभागदेखि सुदुर पश्चिमसम्म यी ३२ प्रजातिका गुराँसहरु पहाडी भेगमा वितरण भएका पाइन्छन् । नेपालको पूर्वी जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल अर्थात् तिनजुरे मिल्के जलजले क्षेत्रमा मात्रै २८ प्रजातिका गुराँसहरु छन् । यही कारणले पनि तिनजुरे मिल्के जलजले क्षेत्रलाई गुराँसको राजधानी समेत भनिन्छ । यता अन्नपूर्ण संरक्षण क्षेत्रमा भने नौ प्रजातिका गुराँसहरु पाइन्छन् ।
विभिन्न प्रजातिका गुराँसहरु मध्ये अधिकांश क्षेत्रमा रातो गुराँस पाइन्छ । यही रातो गुराँस अर्थात् लालीगुराँस नेपालको राष्ट्रिय फुल हो । वि.सं. २०१९ सालमा नेपाल सरकारले लालीगुराँसलाई राष्ट्रिय फुलको मान्यता दिएको थियो भने नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फुलको रुपमा निरन्तरता दिएको छ । लालीगुराँसलाई अहिले १ हजार र ५ सयको नेपाली नोटमा पनि अंकित गरिँदै आइएको छ । त्यसैगरी इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मिटर अग्लो लालीगुराँसको बोटलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रुपमा अंकित गरेको छ । उता भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फुलको रुपमा लालीगुराँस रहेको छ । गुराँस प्रजाति विश्वभर मन पराइएको प्रजाति हो । गुराँसले वातावरणलाई मनोरम बनाउने मात्र नभई औषधी तथा पेय पदार्थको रुपमा पनि मानवलाई सेवा पु¥याइरहेको छ । घाँटीमा खानेकुरा वा अरु केही अड्किएको बेला लालीगुराँसको फुल खाएमा निस्कन्छ भन्ने गाउँघरमा प्रचलन नै छ । यसैगरी गुराँसबाट सरवत पनि बनाउने गरिन्छ । साथै यो ग्रामिण भेगमा दाउराको रुपमा प्रयोग हुने महत्वपूर्ण प्रजाति हो ।
गुराँसको फुल पर्यटक, विनस्पति विज्ञ, वन तथा वातावरण विज्ञानका विद्यार्थी, कवि, गायक, अनुसन्धान कर्ता र ग्रामिण जनता सबैमा महत्वपूर्ण छ । गुराँसको रमाइलो प्राकृतिक वातावरण बारेको वर्णन धेरै गायकहरुले गीतबाट समेत गरेका छन् । १९७४ व्यान्डको ‘गुराँसै फुल्यो वनैमा… मेरो मन झुल्यो तिम्रो मनैमा…’ बोलको गितले धेरैको मन जितेको छ । त्यस्तै नारायण गोपालको ‘म त लालीगुराँस भएछु, वनै भरि फुलिदिन्छु’ अति नै रुचाइएको गित हो । गुराँस फुलको महत्व जनमानस अत्याधिक छ ।
तर पछिल्लो समय गुराँसको फुल फुल्ने समयमा परिवर्तन भई चाँडो फुल फुल्ने प्रक्रिया भने देखिन थालेको छ । विश्वव्यापी रुपमा छाइरहेको जलवायु परिवर्तनको प्रत्यक्ष असर गुराँसले खेपि रहेको भनि वनस्पति तथ वन विज्ञहरुले दावा गरिरहेका छन् । अहिले विभिन्न प्रजातिका गुराँस फुल फुल्ने समय अगावै फुलिरहेका देखिन्छन् भने फुल फुल्ने समयमा फुल झरिरहेका छन् । नेपालमा प्रति वर्ष ०.०६ डिग्री सेल्सीयसले बढी रहेकोे तापक्रमले गुराँसका प्रजातिहरुको वृक्ष रेखामा समेत परिवर्तन देखा पारेको छ । तर जलवायु परिवर्तनले गुराँसमा कस्तो प्रभाव परिरहेका छ भन्ने अध्ययन अनुसन्धान कहिं कतैबाट भने हुन सकेको छैन ।
यसैबीच हाम्रै बागलुङ जिल्लाको गलकोट क्षेत्रमा अवस्थित घुम्टे लेकमा नयाँ वर्ष २०७४ को अवसर पारेर गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोटले यही चैत्र ३१ र वैशाख १ गते गुराँस उत्सव गर्दैछ । गुराँसको संरक्षण तथा पर्यटन प्रवद्र्घनको लागि गर्न लागिएको यस गुराँस उत्सवले समग्र आम मानिसमा गुराँस प्रतिको मोह निश्चित रुपमा नै बढाउने आशा गर्न सकिन्छ । घुम्टेको पहिचानलाई जोगाउन र पर्यटन विकास गर्न गुराँस फुलले विशेष भूमिका खेल्दछ । त्यसैले घुम्टेमा हुन लागेको पाँचौ गुराँस उत्सवलाई सफल पार्न सम्पूर्ण सरोकारवालाहरुले भौतिक, नैतिक र आर्थिक रुपले सहयोग गर्न जरुरी छ । घुम्टे लेकमा पाइने गुराँसका प्रजातिको पहिचान र अभिलेखिकरण गर्न आम सरोकारवालाहरु लाग्नु पर्ने देखिन्छ । हाल सम्म घुम्टे लेकमा पाइने गुराँसका प्रजातिहरु नै ठोस रुपमा एकिन गर्न नसकेको अवस्था छ । गुराँस संरक्षणका चुनौतिहरु के के छन् त्यो पनि निक्र्योल गर्न सकिएको छैन ।
अबका दिनहरुमा घुम्टे लेक लगायत जिल्लाभर पाइने गुराँसको संरक्षण गर्दै थप अध्ययन अनुसन्धानमा सबैले जोड दिनु पर्ने बेला आएको छ । गुराँसको अध्ययन अनुसन्धान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्घनमा सम्पूर्ण जनसमुदाय लाग्नु पर्दछ । गुराँसको सौन्दर्यता हाम्रो मौलिक पहिचान सँग जोडिएकोले गुराँस संरक्षणको विषय सम्पूर्ण आम सरोकारवालाहरुले गम्भिरतापूर्वक लिनु पर्दछ ।
Previous Articleअन्नपूर्ण आधार शिविरमा पदमार्ग
Next Article कृषिमा आधुनिक प्रविधिको प्रयोग