काठमाडौँ, १७ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सबै दलको सहमतिमा निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ उच्च नेतृत्वको चाहना रहेको बताएका छन् । साताव्यापी अनौपचारिक चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री दाहालले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।
बोआओ फोर फर एसिया सम्मेलनमा भाग लिन चीन गएका दाहालले बेइजिङ, सिचुवान र तिब्बतसमेत भ्रमण गरेका छन् । ‘अरू मुलुकको आन्तरिक राजनीतिक मामिलामा कुनै हस्तक्षेप नगर्ने चीनको घोषित नीति रहेको हामी सबैलाई थाहा भएकै कुरा हो’, प्रधानमन्त्री दाहालले भने, ‘हामीसँग भएका राष्ट्रपति तथा उपप्रधानमन्त्री सम्मका भेटमा उहाँहरूले नेपालका सबै राजनीतिक दलको बीचमा सहमतिले निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण होस् । हाम्रो शुभकामना छ भन्ने कुरा राख्नुभयो । उहाँहरूले नेपालको राजनीतिबारे त्योभन्दा अरू केही भन्नुभएन ।’
उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी सम्बन्ध थप सुदृढ भएको उनले बताए । ‘यसबाट नेपाल-चीन सम्बन्धमा आगामी दिनमा नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास मैले लिएको छु’, उनले भने ।
चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता आफूले राष्ट्रपतिसँग व्यक्त गरेको दाहालले बताए । उक्त अवधारणामा सहभागिताबाट नेपाल-चीनबीच रेलमार्ग र सडक सञ्जाल निर्माण, ऊर्जा क्षेत्रमा सहकार्य, सीमापार विद्युतीय प्रसारण लाइन, औद्योगिक पार्कलगायत महत्ववपूर्ण पूर्वाधार निर्माण गर्ने विषयमा फाइदा लिन चाहेको दाहालले बताए ।
दाहालले वान बेल्ट वान रोड अवधारणामा सहभागिताले नेपालका भौतिक पूर्वाधारको स्तरोन्नति, नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने, दुई देशबीच अन्तरसञ्जाल निर्माण र विस्तार गर्ने, जनस्तर र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउनेजस्ता विषयबाट नेपाली जनता लाभान्वित हुने बताए ।
भ्रमणका उपलब्धि :
– उच्चस्तरीय भेटबाट विश्वास र समझदारी सुदृढ ।
– विकासका लागि आवश्यक सहयोग र समर्थन ।
– वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता ।
– चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता ।
– तातोपानी नाका पुनःसञ्चालनमा चिनियाँ राष्ट्रपतिको चासो ।
– चिनियाँ लगानीका लागि पहल ।
– चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन ।
अन्नपूर्ण पोष्ट