माधवकुमार नेपाल नेपालका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता हुन् । एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा सहभागि भएर काठमाडौं फर्केका नेता नेपालसँग समसामयिक राजनीतिक घटनाक्रमको विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय निर्वाचन हुन्छ ?
हुन्छ । हुनुपर्छ । चुनावको विकल्प छैन ।
निर्वाचनको लागि आवश्यक तयारीप्रति सन्तुष्ट हुनुहुन्छ ?
जुन गतिका साथ, जुन उत्साहका साथमा माथिबाट हुनुपर्ने हो, त्यो कम छ । तर जुन वातावरण तल देखिएको छ, आम जनतामा, एक किसिमले समयको पर्खाइ, छिटोहोस भन्ने चाहाना र उत्साह छ । कतिपय पार्टी जो चुनावको विपक्षमा छन् उनीहरुलाई आफ्नै पार्टीका कार्यकर्ता र सर्वसाधारणले समेत यदि चुनावलाई साथ दिएनौ भने हामी तिमीहरुलाई छोडदिन्छौं भनिरहेको अवस्था छ । यसलाई हेर्दा चुनावी माहोल निकै राम्रो बनेको छ ।
केन्द्रमा नि ?
केन्द्रमा माओवादी र कांग्रेसले खुटटा कमाएका छन् । हारिन्छ कि भनेर उनीहरूको आधा सातो गएको छ । चुनाव गर्नुपर्ने बाध्यता पनि हो । अहिले चुनाव गरेनन् भने एकैपटक तीनवटा चुनाव गर्ने सम्भावना छैन । समय सीमा क्लियर भएकोले पनि माघसम्ममा तीनवटै तहको निर्वाचन भएर नयाँ सरकारको हातमा सत्ता सुम्पिनुपर्छ । यसअर्थमा पनि चुनाव नगर्नुको कुनै विकल्प छैन ।
चुनावका लागि समय छोटो छ तर मतपत्र छाप्ने काम एकाएक दुईतीन दिनअघि रोकिएको छ नि ?षड्यन्त्र त जारी छन् । स्वयं सत्तापक्षका दलहरूबाटै षड्यन्त्र भएका छन् । विभिन्न तहमा षड्यन्त्र जारी छ । बाहिरी शक्तिको सामु लत्तो छोड्ने काम सत्तापक्षबाट भएको छ । घुँडा टेक्ने, लम्पसार पर्नेमा को दोषी हो त ? उनीहरूले जेजे भन्छन्, त्यही तालमा घुम्ने भइरहेको छ । उनीहरू त चाहन्छन् नि संसारभरिका मान्छेलाई नचाऔं । अनि हामी नेपाली नाच्ने ? नाच्नेहरू न दोषी हुन् । हामीकहाँ स्वाभिमान छैन ? त्यत्रो ओहोदामा पुगेको मान्छेमा अलिकति पनि आत्मसम्मान छैन ? जेजे भन्छन्, त्यो मान्ने सरकार प्रमुख भएर, नेता भएर ? अलिकता पनि आफूमा इख भन्ने चिज छैन ? आफ्नो देशको मामिला आफैं हल गर्न सक्छौं भन्ने आँट छैन ? यस्ताहरूलाई धिक्कार छ ।एमाले पहिले पार्टी हुन्छ भनेर चुनाव रोक्ने षड्यन्त्र भइरहेको भन्न खोज्नुभएको हो ? तपाईंहरूले पनि बढी प्रचार गर्नुभयो ।
त्यस्तो कुरामा पनि आत्तिने हो त, सबै भन्छन् नि जित्छौं भनेर । कले हार्छौं भन्छ र ? एमालेले जित्छौं भन्यो भने त्यो स्वभाविक कुरा हो । एमाले राष्ट्रियताको कुरामा अडान लियो । त्यो गौरवको कुरा हो । एमालेभन्दा पनि दुई कदम अघि बढेर काम गर्नुप–यो ।
एमालेको लोकप्रियता बाहिरमात्रै लोकप्रिय हो कि स्थानीय तहमा पनि ?
अब जनपरिचालनको क्रममा देख्नुभयो नि तपार्इंले । जनप्रभावबाट देख्नुभयो तपाईंले । जनउपस्थितको रूपमा देख्नुभयो । जनतामा परेको प्रभावबाट देख्नुभयो । होमस्टेमा पनि एक–एक हजारजना मान्छेलाई प्रत्येक घरमा राखेको देख्नुभयो तपार्इंले । यी सबै कुराले एमाले कतिसम्म लोकप्रिय छ भन्ने थाहा हुन्छ । एमाले जनतामा स्थापित छ ।
केले बनायो एमालेलाई त्यस्तो ?
एमालेको नीति र कार्यक्रमले बनायो । जनताको बहुदलीय जनवादले बनयो । हाम्रो निष्ठाले बनायो । देशप्रेमको भावनाले बनायो । जनताको सेवा गर्ने निष्ठाले काम ग–यो । हाम्रो काम र व्यवहारले पुष्टि ग–यो । नौ महिने सरकारमा हामीले गरेका काम होस्, म प्रधानमन्त्री हुँदा सरकारले गरेको भूमिकाले गर्दा होस्, एमालेप्रति सकारात्मक धारणा बन्यो । अरू सरकारमा एमालेका मन्त्रीहरूले गरेको भूमिकाको आधारमा पनि कामहरूबाट एमाले लोकप्रिय बनेको हो ।
यसबेला मधेसी दलहरू चुनावमा सहभागी भएनन् भने ?
कोही चुनावबाट भाग्छन् भने तिनीहरूको पछि लागेर हुन्छ त ? चुनावलाई पनि अस्वीकार गर्नेहरू, भाग्नेहरूको पछि लागेर हुँदैन । यस समयमा चुनाव सम्पन्न नगर्ने र नचाहने प्रवृत्तिमाथि पूरै प्रहार भइरहेको छ । विद्यार्थीको चुनाव नगर्ने, पार्टीको चुनाव नगर्नेहरूले लोकतन्त्रलाई बलियो बनाउन सक्दैनन् । जनताको काम गर्न सक्दैनन् । मलाई विश्वास छ, उनीहरू पनि अन्तिम समयमा आएर चुनावमा भाग लिन्छन् । त्यसको विकल्प नै छैन ।
अहिले पछिल्लो समयमा आएर मोर्चा केही लचिलो भएको हो ?
मलाई त्यस्तै लाग्छ । आफैंले सुन्न त पाएको छैन, बैठकमा बस्न पाएको छैन । लोकतन्त्र र लोकतान्त्रिक आचरणको कुरा गर्ने मधेसवादी दल पनि चुनावबाट भाग्लान् जस्तो लाग्दैन ।
कथंकदाचित् उनीहरू आएनन् भने ?
को को आए, आएनन् भन्ने कुरा गरेर हुँदैन । शेरबहादुरजी चुनावमा आउनुभएन भनेर हामी सुत्ने त ?
मधेसीबहुल जिल्लामा त चुनाव हुन दिँदैनौ भनेका छन् नि ?
किन नदिने ? उनीहरूले भनेर हुन्छ ? यो शासन चलाउन हुती नभएकाले भन्नुप–यो नि हामीले सक्दैनौं भनेर । जम्मु कश्मीरमा चुनाव हुन दिँदैनौं भनेर भारतले चुनाव नगर्ने त ? कुनै ठाउँ विशेषमा कसैले रोक्ने कोशिश गर्छ भने सरकारले आफ्नो शक्ति देखाउनुप–यो नि ।
नेपालको परिस्थिति त जम्मु कश्मीरको जस्तो हैन नि ?
नेपालको परिस्थिति त राम्रो हो । आत्तिनु पर्दैन । अत्यन्तै खराब ठाउँमा पनि चुनाव भएका छन् । दश प्रतिशत मत खसको ठाउँमा त चुनाव भएको छ । कसैले १०० वर्षसम्म गर्न दिँदैन भन्छ भने चुनाव नगरी बस्ने ? उसका चाहना पूरा नभएसम्म चुनाव हुन दिन्नँ, देश नै चल्न दिन्न भन्यो भने चुनाव नगरेर हुन्छ ? लोकतान्त्रिक विधि छ त मान्नुप–यो नि । मधेसी नेता पनि जनतामा गएर जनमत ल्याउनुहोस् । संसदमा बहुमत सिद्ध गरे भइहाल्यो नि उहाँहरूले, इच्छाअनुसार संविधान संशोधन गरे भइहाल्यो नि । यस्तो विधि हुँदाहुँदै मैले जे भन्छु त्यही हुनुपर्छ भनेर हुन्छ त । यस्तो दादागीरी गर्न त भएन नि ।
तपार्इंले मेची महाकाली अभियानको क्रममा मोर्चाका कारणले तराईका बजारहरू सुक्न थाले भन्नुभयो नि, यस्तो हिसाबले त मधेसमा त उनीहरूको कब्जा देखियो नि ?
उद्दण्डता मच्चाएर हुन्छ ? दशजना मान्छेले गर्दा गाउँ उजाड हुन्छ । राज्यले आफ्नो दायित्व पूरा गर्नुप–यो नि । प्रत्येक घरलाई लुट्न थालियो भने राज्यले के गर्छ ? त्यहाँका मान्छेले देखिरहेका छन् नि । हाम्रो बजार, व्यापार सुकाउने यिनै मधेसी मोर्चाका नेताहरू हुन् भनेर जनताले देखिरहेकै छन् नि त । हाम्रा स्कूलहरू चल्न नदिने, वातावरण बिगार्ने, सामाजिक गतिविधि विगार्न, अशान्ती मच्याउने अरु कोही हैन मधेशी दलनै हुन भनेर ज नताले बुझेकै छन् । राजविराज, जनकपुर सिराहको हालत के छ? जनताले देखिरहेकै छन् त ।
गौर, कलैया, वीरगञ्जको हालत के छ ? त्यहाँका जनता मेर्चाको विरोधमा पनि छन् । मैसँग कुराकानी गरिरहेका छन् । मधेसी दललाई हामी खेद्छौं भन्छन् । कतिपय स्थानमा त खेदेका पनि छन् । अति भइसकेपछि त मान्छेले सक्दैन नि ।
मधेशमा चुनाव भयो भने एमालेले कस्तो नतिजा ल्याउँछ ?
जित्छ । राजविराजमा भएको सभा हेर्नुहोस्, त्यहीँबाट आँकलन गर्न सक्नुहुन्छ ।
तर मधेसका थुप्रै भागमा सभा नै गर्नसक्नुभएन तपाईंहरूले ?
किन सकिएन ? सभा सम्पन्न भएपछि त्यस्तो प्रकारको गतिविधि भएको हो । सभा सम्पन्न हुन नसकेको हैन । सभा सम्पन्न गरेर फर्कंदा आक्रोशित भएर मधेसी मोर्चाका मान्छेले त्यसो गरेका हुन् । त्यसभन्दा अघि त मान्छे आउँदैनन् कि, खल्लो हुन्छ कि भनेर उनीहरूले कुरेका थिए । पहिले त बाटो नै बन्द गरे, नाकाबन्दी नै गरे । आउन दिएनन् । त्यसका बाबजुद अरू ठाउँबाट मान्छे आए । एमालेको सभा बिथोल्ने उद्दण्डता त अन्त पनि देखियो ।
तपार्इंहरूको कार्यक्रमलाई रोक्ने प्रयास भयो तर नयाँ शक्तिका बाबुराम भट्टराई त्यतै हुनुहुन्छ, उहाँले कार्यक्रम त गरिरहनुभएको छ अनि मधेसी मोर्चाका नेता कार्यकताले विरोध गरिरहेका छैनन । यसले के देखाउँछ ?
बाबुरामजी त मतियार हुनुहुन्छ मधेसी मोर्चा र देश टुक्र्याउन खोज्ने समूहको । उहाँ त लम्पसार पर्नुहुन्छ । जातीय भावना छ उहाँमा । यो देशको तराई टुक्रियोस् भन्ने उहाँको चाहना छ । उहाँ देशमा दुईवटा राष्ट्रियताको कुरा गर्नुहुन्छ । देशलाई खण्ड–खण्ड पार्ने अनि विदेशीको स्वार्थको रक्षा गर्ने जिम्मा उहाँले लिएको जस्तो देखिन्छ ।
कुन चाहिँ विदेशीको कुरा गर्नुभयो ?
मलै नाम किन लिने ?
बाबुराम भट्टराइले तपार्इंकै जिल्लामा गएर कांग्रेस–एमाले प्राण नभएका पार्टी हुन् भन्नुभयो नि !
उहाँको नयाँ शक्ति नामको पार्टी पनि देखिसकिएको छ । सुकिसकेको छ उहाँको पार्टी । सबै रौं खुइलिइसक्यो ।
चुनाव हुन दिइएन वा भएन भने एमालेले के गर्छ ?
यदि चुनाव गर्न नसक्ने हो भने यो सरकारका प्रधानमन्त्रीले पहिले राजीनामा दिनुपर्छ । स्वाभाविक रूपमा नयाँ समीकरण तय हुन्छ । त्यसबेला कस्तो समीकरण भन्ने छलफल होला । हामी सरकारको नेतृत्व गर्न लालायित होइन तर हामी यो संक्रमणकाल टुंगियोस् भन्ने चाहन्छौं । संवैधानिक संकट नआओस्, देशले चाँडो निकास पाओस् भन्ने चाहन्छौं । समाधान र चुनाव चाहन्छौं । राजनीतिक संकट नआओस् भन्ने हाम्रो चाहना छ । चुनाव हुनुुप–यो । सरकारको नेतृत्व जसले गरेपनि फरक पर्दैन ।
वैशाखमा चुनाव भएन भने मंसिरमा संसदीय चुनाव गर्न पनि कठिन होला ?
अहिले यो बारेमा नसोचौं । अहिले गर्नुपर्ने काम गरौं । अहिले नै के–के गर्ने भनेर नसोचौं । अहिलेको काम चाहिँ गरौं । त्यो भनेको स्थानीय तहको निर्वाचन गरिहालौं ।
सत्ताधारी दल त संसद्कै म्याद थप्न सकिन्छ भन्छन् नि ?
त्यो त सकिँदैन । त्यसको लागि एमाले तयार छैन ।
विगतमा त त्यही भयो नि ?
भयो तर कति गाह्रो भयो । कत्रो ठूलो तनाव भयो । अझ लम्ब्याउन खोजैकै थिए । दोस्रोलाई पनि असफल बनाउन खोजेकै थिए । बिगार्नेहरू जहाँ पनि हुन्छन् । तर यहाँ एमाले छ । उसले सधैं समस्या समाधान र सकारात्मकताका लागि काम गर्छ ।
निर्वाचन पनि नरहने र संसद् पनि नरहने भयो भने ?
संवैधानिक शून्यता र संकट खडा हुन्छ । पार्टीको वैधानिकता हराउँछ । संविधान कागजमा परिणत हुन्छ । अरू शक्तिलाई भित्रने मौका दिन्छ । आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम हुन्छ ।
चुनाव नभएको खण्डमा सीके राउत प्रवृत्ति र पूर्वराजाका सम्भावित कदमहरूलाई तपार्इंले कसरी लिनुभएको छ ?
प्रतिगामी शक्तिहरू सक्रिय छन् । नेपालमा राजतन्त्र भित्र्याउन चाहनेहरू छन् । संघीयता नहोस् भन्ने चाहेकाहरूको मनोबल बढ्छ । संघीयताको नाइके भन्नेहरूलाई घाटा हुन्छ । जो संघीयता भनिरहेका छन्, उसलाई नै घाटा हुन्छ । खुब संबिधानसभाको गीत गाउनेले संविधानसभालाई चल्न दिएन भने के हुन्छ भनेर मैले त्यसबेला पनि भनेको थिएँ ।
माओपादीलाई चाहिएको संविधानसभा उसकै कारण असफल हुन्छ भने हाम्रो भन्नु केही छैन भनेर हामीले भनेकै हो । हाम्रो चिन्ता देश र लोकतन्त्रप्रति हुन्छ ।
अहिलेको राजनीतिक निकास के हो ?
अहिले संविधान संशोधनको बेला होइन । संशोधनका विषयमा एमाले सहमत पनि छैन । बरू बसेर छलफल गरौं । सबैले विश्वास जित्ने काम गरौं । उपयुक्त कुरामा चाहिँ हामी तयार छौं । मधेसको नाममा राजनीति गर्ने काम नगर्नुहोस् । संविधानको नाममा राजनीति गर्ने काम नगर्नुहोस् । यसले मुलुकलाई फाइदा गर्दैन । यो मुलुक यस्ता धेरै चक्रव्यूहमा परिसकेको छ । अब हामीले यो देशलाई विकासको बाटोमा लैजाऔं । समृृद्धिलाई लक्ष्य बनाऔं भन्ने हाम्रो धारणा हो ।
एकथरीले त एमाले र मधेसवादी दुवै दलहरू अतिवादको बाटोमा रहेको बताउँछन् त ?
होइन । यो त कसरी अतिवाद भयो र ? एमाले त धेरै लचिलो छ । हामीले संशोधन पेश गर्ने मौका दिएका हौं । टेबल गर्ने मौका पनि दिएका हौं । प्रादेशिक सीमांकनका लागि चाहिँ प्रदेशसभाहरू नभएसम्म सीमांकनको विषय हुँदैन भन्ने हाम्रो कुुरा हो ।भारतमा अहिले जसरी बीजेपीको उदय भइरहेको छ त्यसले नेपालमा एमालेलाई माथि उठ्न दिँदैन भनेर टिप्पणी गर्ने पनि छन् । एमालेसँग बीजेपी र उक्त पार्टीकै प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएका छन् भन्ने टिप्पणी गरिन्छ नि ?
अब बीजेपी रिसाएको छ, भारत रिसाएको छ भनेर हुँदैन हेर्नुस् । किन रिसाउनुप–यो ? हामीले उनीहरूको विरोधमा कुनै पनि गतिविधि गरेका छैनौं । हामीले त नेपालको कुरा गर्ने हो । नाकाबन्दीको विरोध त गर्नुप–यो । नाकाबन्दीको विरोध गरेर पो स्वाभिमानी रहेछ भन्ने उसलाई थाहा हुन्छ । हामीलाई नोकर त सम्झनुभएन नि । एउटा राजाले नलत्रिएको अर्को राजा मन पराउँछ । लत्रिएकोलाई त कसैले मन पराउँदैन । राम्रोले राम्रोलाई मन पराउँछ नि ।
यदि भारत तपाईंको पार्टीसँग नरिसाएको भए केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले अकस्मात् किन फिर्ता लियो त ? त्यसमा भारतको हात रहेको आशंका गरिएकै छ ?
इन्डियाका भित्री हातहरू छन् भनेर मलाई थाहा छैन । तर मेरो उसलाई एउटा मात्रै सुझाव के छ भने नेपालका साना–साना कुरामा सक्रिय हुँदा उसको प्रतिष्ठा गिरिरहेको छ । भारतप्रतिको नेपालीको जनविश्वास समाप्त भइरहेको छ । भारतप्रति नकारात्मक धारणा बढिरहेको छ । यो राम्रो होइन ।
इन्डियाले अलि ठूलो होराइजनबाट सोच्नुप–यो । नेपालका सानातिना आन्तरिक विषयमा चासो राख्न बन्द गर्नुप–यो । र नेपालका साना पार्टीसँग स्वार्थका अघिपछि लाग्ने काम पनि बन्द गर्नुप–यो । नेपाल स्वाभिमानी देश हो भनेर बुझ्नुप–यो । नेपालले पनि भारत र चीनको संवेदनशीलता बुझ्नुप–यो । नेपालको हितमा आघात हुने कुनै पनि काम हामीलाई मन पर्दैन ।
प्रचण्डजीलाई मान्छेले के भन्छन् भने उहाँ विदेशीसँग लम्पसार पर्नुहुन्छ । मधेसी शक्तिसँग लाचार हुनुहुन्छ । यस्ता मान्छेले भोलि फेरि जनतालाई दुःख दिन्छन् । विदेशीहरूले भन्छन्, ‘नेपाली नेताहरू हाम्रा अघि लम्पसार पर्छन् । दिउँसै हामीकहाँ भात खान आउँछन् ।’
त्यस्तो स्थिति पनि छ है ?
खै त एमालेले कहिल्यै त्यस्तो गरेको छैन त । हामीले त गरेका छैनौं त । हामीले राज्य राम्रोसँग चलायौं त । नाकाबन्दीको बारेमा आवाज उठायौं त । खै त इन्डियाले हामीलाई सम्मानै ग–यो । जो आफू सम्मानित छ उसले अरूलाई पनि सम्मान गर्छ । हामी अर्कोलाई सम्मान गर्छौं । हामीलाई पनि कसैले अपमान गरेको सहँदैनौं ।
इन्डियाकै कुरा गर्दा यूपीको नेतृत्वले नेपालमा हिन्दू धर्मको चलखेल गर्न सक्छ भन्छन् नि ?
राजनीतिक नेताको मुखबाट यस्ता कुराहरू आउँदैनन् । यी सब कुरा एक्सपर्टबाट सुन्नुहोस् । हामी त के भन्छौं भने त्यहाँको सत्ताधारीले जितेको हो । जनताले जिताएका हुन् । उनीहरू नेपालप्रति जिम्मेवार हुनुपर्छ । सम्मान गरेर व्यवहार गर्नुपर्छ । नेपालमा हिन्दू राज्य वा राजतन्त्रको कुनै पनि सम्भावना छैन । हामी हुन दिँदैनौं ।
प्रसंगवश, प्रधानमन्त्री चीन भ्रमणमा हुनुहुन्छ । चिनियाँ राष्ट्रपतिको भ्रमण भने रोकिएको छ । के अहिलेको सरकारले सन्तुलित परराष्ट्र नीति अपनाउन नसकेको हो ?
मानिसले त्यस्तो आशंका गरेका छन् । चीनसँगको सम्बन्ध कताकता चिसिँदै गएको देखिन्छ । लम्पसारवादी नीतिले गर्दा एकपक्षसँग कताकता ज्यादा भएको देखिन्छ । आम जनगुनासो यस्तै सुनिन्छ । चीनले नेपाललाई कम विश्वास गरेको भन्ने बुझिन्छ । तर अहिले आएर चीनको राष्ट्रपतिसँग हाम्रा प्रधानमन्त्रीले भेट्ने विषयलाई मैले सकारात्मक रूपमा लिएको छु । चीनले ढोका बन्द गरेको छैन । ढोका खुल्ला नै छ । यसमा प्रचण्डजीले मौकाको सदुपयोग गर्न सक्नुहुन्छ कि हुन्न हेर्न बाँकी छ ।
अन्तिममा, माओवादी र कांग्रेसको गठबन्धन जारी नै रह्यो भने एमाले केही समयलाई सरकारमा जान पाउँदैन है ?
केही फरक पर्दैन । तपार्इंले राजनीतिमा देख्नुभएकै त छ नि । कस्तो उलटपुलट हुन्छ । हामीले धेरै लामो समयदेखि राजनीति गरेका हौं ।
कांग्रेस माओवादीको गठबन्धन देखेर एमालेलाई जलन भएको छ भनिन्छ नि ?
हामीलाई जलन भएको छैन । खुशी छौं । खुशी यस अर्थमा कि दुवै दल सड्न थालेका छन् । एउटै खाल्डोमा छन् । हामी आत्तिनुपर्दैन ।
लोडसेडिङ अन्त्य लगायतका विषयमा अहिलेको सरकारले केही राम्रो काम गरेको छ । कसरी सडेको भन्न मिल्छ ?
राम्रो काम गर्नुहोस् । हामी प्रशंसा गरिहाल्छांै नि । बेठीक काम गरे आलोचना हुन्छ । समग्रतामा नबिग्रनुहोस् भन्ने हाम्रो चाहना हो ।
मेची–महाकाली अभियानकै क्रममा केपी ओली अचानक काठमाडौं आएर प्रचण्डलाई भेट्नुभयो । सरकार बाहिर बस्नुपर्दा एमालेलाई जलन भइरहेको छ भन्छन् नि ?
प्रचण्डजीले बोलाउनु पो भयो कि ? थाहा भएन मलाई । अहिले प्रचण्डजी मसँग खासै सम्पर्कमा हुनुहुुन्न । उहाँलाई पनि फुर्सद छैन । मलाई पनि फुर्सद छैन । म विषयवस्तुको गहिराइमा जान चाहन्छु । म नतिजामुखी मान्छे हुँ । म गफ हाँक्ने मान्छे हैन । म पोइन्टमा कुरा गर्ने मान्छे हुँ ।
तपाईंको आफ्नै पार्टी अध्यक्षको भूमिकाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जहाँसम्म पार्टी भित्रको कुरा छ, त्यसमा हामी मिलेर जानुपर्छ । जनताले त्यही चाहेका छन् । कसैका कमीकमजोरी भएमा सच्याउनुपर्छ । आलोचना गर्नुपर्छ । सन्तुष्ट असन्तुष्टको कुरा पछि गरौंला । हामी अहिले चुनावमा केन्द्रित छौं । एमालेलाई जिताउनुपर्छ । चुनाव हुन्छ भन्नेमा हामी विश्वास्त छौं । प्रचण्डजीले पनि चुनाव गराउँछु भन्नुभएको छ । आयोगले पनि राम्रै तयारी गरेको छ । यदि प्रचण्डजीले चुनाव गराउन सक्नुभएन भने उहाँ इतिहासमा कहिल्यै माथि उठ्न सक्नुहुन्न । लोकान्तर