काठमाडौं, १३ चैत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अगाडि सारेको वान वेल्ट वान रोड अवधारणामा नेपालले सहभागीता जनाउने अन्तिम समझदारी बनाउने चरणमा पुगेको बताएका छन्। पहिले भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजान आफू पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री प्रचण्डले सन २०१४ मा वान वेल्ट वान रोड अवधारणामा भएको समझदारीलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।
वान वेल्ट वान रोड अवधारणाले साझेदारी र हातेमालो गर्न प्रचुर अवसरहरु दिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि चिनिया राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन । मध्य एशिया र दक्षिण एशियासँग सम्बन्ध जोडन यो महत्वपूर्ण हुने पनि प्रधानमन्त्री प्रचण्डले बताए । बिश्व व्यापार र अर्थमन्त्रका लागि एशिया समृद्धिको भूमि र अन्वेषणको केन्द्र रहेको पनि उनले बताए । ‘त्यो बैधतालार्इ हामी निर्माण गर्न सक्छौ र आधुनिक सफलताको कथा सिर्जना गर्न सक्छौ । कनेक्टीभिटी,विकास,परिचालन र समृद्धिको भूमिको कथा बनाउन सक्छौ’प्रधानमन्त्री प्रचण्डले भने । नेपाल चीन सम्बन्ध: विकास तथा समृद्धिका सम्भावनाहरु बिषयक प्रवचन कार्यक्रमलाई आइतवार बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘पारवहन सम्झौताको प्रोटोकललाई जतिसक्दो छिटो टुंग्याउने हाम्रो प्राथमिकता हो।’ गत बर्ष पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा गरेको पारवहनसहितका सहमति र सम्झौता कार्यान्वयन गर्न पनि आफू प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
नेपालको समृद्धिका लागि प्रधानमन्त्री प्रचण्डले चीनसँग सडक,रेल्वे,हवाई मार्ग र वेव लिङकलाई पनि प्राथमिकतामा राखेका छन्। प्रधानमन्त्री प्रचण्डले भुकम्पपछि बन्द रहेको तातोपानी नाकालाई पनि छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनु पर्ने आवश्यकतामा पनि जोड दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित वैदेशिक अध्ययन बिश्वबिद्यालयमा नेपाल अध्ययन केन्द्रको उदघाटन पनि गरेका छन्। सो बिश्वबिद्यालयमा आइतवारदेखि स्नाकोत्तरतहसम्म नेपाली भाषाको पढाइ शुरु भएको छ।