रामकुमारी झाँक्री
पार्टीले मधेशका जिल्ला भएर मेची–महाकाली राष्ट्रिय अभियान चलाउने निर्णय गरेपछि व्यक्तिगत हिसावले पनि म त्यत्तिकै उत्साहित थिएँ। संविधान जारी भएपछि मधेशमा जस्तो प्रचार भयो, त्यसले मधेश भर्सेज पहाडको मनोविज्ञान सिर्जना हुनसक्ने डर थियो। विशेषगरी नागरिकताका सवालमा भ्रम फैलाइयो। र, लामो हड्तालदेखि नाकाबन्दीसम्मको अवस्था मुलुकले खेप्नुपर्यो। कतिसम्म भनियो भने, अब मधेशका जनताले नागरिकता नै पाउँदैनन्।
जागीर नपाउनेदेखि सम्पत्तिसमेत राख्न नपाउनेसम्मका प्रचार पनि सतहमा आएका थिए। मधेशका लागि भनेर चितवनमा पार्टीले कार्यक्रम चलाएको थियो। तर, त्यो प्रभावकारी भएन। दशैंका बेला जनकपुरलगायत मधेशका गाउँहरुमा सद्भावका लागि चियापान कार्यक्रम चलाइयो। त्यो पनि खासै प्रभावकारी नभएको अनुभूति भयो।
यसपछि, एमालेका आफ्ना कुराहरु लिएर २१ फागुनको अवसर पारेर १५ दिने अभियान चलाउने निर्णय भयो। लामो तयारीपछि अभियानमा पूरै पार्टी पंक्ति चलायमान भयो।
नयाँ तरङ्ग, अनौठो अनुभूति
अभियान शुरू हुने अघिल्लो दिन काठमाडौंको केन्द्रीय टोली झापा पुग्यो। मसहित धेरै साथीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको घरमा बस्यौं। पुरानो घर तर जति पनि धेरै मान्छे अटाउने सक्नेगरी बनाइएको।
ठूला–ठूला भाडाँहरुमा खाना बनाइएको। बस्नका लागि होम स्टेको व्यवस्था थियो। स्थानीय कमिटीका साथीहरु आफ्ना अतिथी खोज्दै आइपुग्ने। ‘तपाई मेरो घरमा जाने हो’ भनेर लिस्ट बोकेर स्थानीय कार्यकर्ताहरु हामीलाई लिन आउने व्यवस्था रहेछ। यसरी खोज्दै आउँदा रइमालो लाग्ने। पार्टीको निर्देशन नै अतिथीहरुलाई घरघरमा लगेर राख्ने र भोलिपल्ट चोंकमा तोकिएको समयमा खाना खुवाएर ल्याउने थियो। त्यहीअनुसार भोलिपल्ट विहान खाना खाएर दमक चोकमा सबै भेला भयौं।सडकका दुवै किनारामा स्वागतका विभिन्न शैंली अपनाएर मानिसहरु उभिएका। सुकुम्बासीहरुले घरका नक्सा लिएर आएका– यस्तै घर चाहिन्छ भन्ने सन्देश दिनेगरी। विभिन्न जातिका भेषभुषा र संस्कृति झल्काउने साजसज्जासहित स्वागतमा सडकका किनारमा उभिने क्रम काकडभित्तादेखि महेन्द्रनगरसम्म नै चल्योे। मूख्यगरी सभास्थल पुग्न नसकेकाहरु यसरी उभिन्थे।
अभियानका क्रममा मञ्चसहितको एउटा ठूलो ट्रक तयार पारिएको थियो। मधेशका जिल्लाहरुमा मञ्च बनाउन नसके त्यहीँबाट सभा गर्ने भनेर। यो ट्रक अभियानको अग्रभागमा हिड्थे। केन्द्रबाट गएका पार्टी नेतृत्व, स्वयम् सेवक र जनसंगठनकासहित एक हजार बढीको टोली र सभास्थल नजिककाहरुको ठूलो सहभागितामा भव्य सभा गर्दै अभियान शुरु भयो।
दिनभरको सभा सकिएपछि साँझमा प्राय सबै समीक्षामा केन्द्रीत हुन्थे। त्यति धेरै मान्छे छन्, अझै फलानो आएन, आउन सकेन भन्ने समीक्षा गरेको सुन्दा अभियानप्रति कार्यकर्ता पंक्तिमा कति हुटहटी रहेछ भन्ने बुझ्न सकिन्थ्यो।
हुनपनि, अभियानले पूरै पार्टीमा तरंग ल्याएको थियो। सुस्ताएका कुदेका, मुर्झाएकाहरु ब्युँझेका। अभियान पुगेका ठाउँहरुमा हलचल ल्यायो नपुगेकाहरुमा पनि गतिशिलता देखियो। अभियानमा पहाडबाट पनि थुप्रै झरेका थिए।
घरघरमा शौचालय, अरु पार्टीकालाई पनि प्रशिक्षण
मधेशका गाउँघरमै केन्द्रका नेताहरु बास बस्न आउने भनेपछि स्थानीय नेतृत्वले त्यसैअनुसारको व्यवस्थापन गरेका थिए। होम स्टेको व्यवस्था गरिएकाले पूरै गाउँ चिटिक्क सजाइएको। शौचालय नभएकाले पनि बनाउने व्यवस्था गरिएछ। लम्की पुग्दा थाहा भो, अभियानकै कारण तीन सय बढी घरमा नयाँ शौचालय बनेछ। यसमा स्थानीय कमिटीले समन्वय गरेको छ।
लुगाहरु धुने, पुराना भए सिउने, झुल किन्ने, मिठो र सफा खाना तयार पार्ने इत्यादी कुराले गाउँहरुमा पूरै नयाँ हलचल देखियो। कतिपय ठाउँहरुमा पार्टीले नै झुल किनेर दिएछ।
स्थानीयहरुको त व्यवस्थापनमा कठिनाइ भएन। तर, केन्द्रबाट जाने टोलीका सदस्य नारायणी पश्चिम जानेमा १२ सय भन्दा बढी भए। अब, सात नम्बर प्रदेशमा यति धेरैलाई एमालेको घरमा मात्रै अटाउनसक्ने स्थिति भएन। त्यसपछि एमालेले अाफ्ना सदस्यहरुका छिमेकीहरु कांग्रेस, माओवादी, राप्रपा सबैलाई बोलाएर एमालेले प्रशिक्षण दिएछ, घर सफा बनाउने, शौचालय बनाउने, झुल किन्ने, दुई छाक मिठै खाना खुवाउने इत्यादी भनेर। उनीहरु पनि सहमत भएछन्।कतै ठूलो सभा, कतै ठूलो सन्देश
राजविराज घटनापछि तीन दिन स्थगित भएर पनि होला, नारायणघाट किनारको सभा निकै ठूलो थियो। कावासोतीको सभा पनि सानो थिएन।
भैरहवा, दाङ, नेपालगञ्ज, टीकापुर र सुर्खेतको सभा विशाल नै थियो। कतिपय सभाले ठूलो सन्देश पनि दियो। जस्तो– नेपालगञ्जमा मुस्लिमहरुको सहभागिता महत्वपूर्ण थियो। मुस्लिम महिलाहरुले सभास्थल लपक्कै छोपेको ।
राजापुर र टीकापुरको सभालाई पनि सिम्वोलिक रुपमा लिन सकिन्छ। यता, पूर्वतिर पनि निकै ठूलो सहभागिता रह्यो। विराटचोकको सभा सायद निकै ठूलो थियो। दुई नम्बर प्रदेश प्रवेश गर्नुपर्ने भएकाले हुनुपर्छ इनरुवाबाट ठूलो क्याराभान निस्क्यो। अगाडि के भइरहेको छ? पछाडिकाले थाहै नपाउने। पछाडिकाहरु कुन ठाउँमा आइपुगे? अगाडिलाई थाहा नहुने अवस्था थियो। सवै दोस्रो स्रोतबाट थाहा पाउनुपर्ने।विराटनगरको सभा सकेर काठमाडौं फर्कने मानसिकता बनाएकाहरु पनि राजविराजसम्मै आइपुगे। मधेशी मोर्चाले गौँडा–गौँडामामा रोकेर स्थानीय धेरैलाई सभासम्म पुग्न नदिएपनि राजविराजमा ठूलो जनमास उत्रियो।
सुरक्षा निकायले जे भन्यो, त्यही मान्यौं
दुई नम्बर प्रदेशलाई हामीले विशेष रुपमै हेरका थियौं। यस्तैगरी सयंम र सतर्कता अपनाइरहेका थियौं। मोर्चाले धेरै प्रचार गरेकाले राजविराज सभाबारे प्रायको मन आतंकित थियो नै। विशेषगरी एमालेका स्थानीय कार्यकर्तालाई मोर्चाले केही गर्ला कि भन्ने डर एमाले नेताहरुमा लुकेको थियो।
मोर्चा भने जसरी पनि आक्रमण गरेर सन्देश दिन चाहन्थ्यो। हामीले पनि स्वयम् सेवकहरुलाई त्यसैगरी नै संयम् रहन प्रशिक्षित गरेका थियौं।
इनरुवाबाट स्कटिङसहितको टोलीलाई सुरक्षाकर्मीको ठूलो पंक्तिले सुरक्षा दिइरहेको थियो। उसैगरी, सानातिना विरोधहरुको कुनै वास्ता नगरी अगाडि बढिरहेका थियौं। तर, शान्तिपूर्ण प्रदर्शन र विरोध गर्न पाइन्छ भन्ने सन्देश दिनेगरी टोली अगाडि बढि नै रह्यो। यो क्रम महेन्द्रनगरसम्मै रह्यो।
विरोधसँगै, अर्कातिर शान्त रुपमा अभियानलाई स्वागत गर्नेहरु पनि थुप्रै देखिए, बाटैभरी। राजविराजको सभा सकेसम्म चाँडो सक्नेतिर लागियो। सुरक्षा निकायले यसै भनिरहेको थियो। उनीहरुकै सल्लाहअनुसार पार्टी प्रवेश कार्यक्रम रोकियो। अरुतिर पनि सुरक्षा निकायले जसोजसो भन्यो, यसैगरी सभाहरु भए। उनीहरुकै सल्लाहअनुसार राजविराजमा सभास्थल परिवर्तन गरिएको थियो।
सभा शान्तिपूर्ण बातावरणमा सकियो। मोर्चाका कार्यकर्ताले पनि सभास्थल नजिकैका खेतका गराहरुमा कालो झण्डासहित विरोध जनाइहे। टोली अगाडि बढ्यो। समिक्षा पनि गरियो– लोकतन्त्र यस्तै रहेँछ, दुवै पक्षले जित्ने। कालो झण्डा देखाएर मोर्चाले विरोध जनायो, सभामार्फत् हामीले हाम्रो कुरा राख्यौं।
हिड्नुअघि, डीएसपी रामबहादुर कार्की भेटेँ। बधाई पनि दिए– शान्तिपूर्ण सभा सम्पन्न गर्न सहयोग गरेको भनेर। तर हामी रुपनी आउँदा पो सुनियो, गोली चल्यो। त्यसपछि फेरि खबर आयो, चार जनाको मृत्यु भयो। चकित परियो, टोली हिडिसकेपछि गोली चल्यो ?बुझ्दै जादाँ त्यहाँ टीकापुर दोहो¥याउने तयारी रहेछ। भीआइपीका बलियो सुरक्षासहितको टोली त्यहाँबाट हिडिसकेपछि दुई-तीन सय कार्यकर्ता सभास्थलमै थिए। स्थानीय सुरक्षा टोली कमजोर। मोर्चाको तयारी सभास्थलमा रहेका स्थानीय एमाले कार्यकर्तामाथि आक्रमण गर्ने रहेछ।
यदि, प्रहरीले गोली नचलाएको र नरोकेको भए एमालेका स्थानीय कार्यकर्ता बच्न सक्ने थिएनन्। किनभने, हाम्राहरु सूसुचित थिएनन्। उनीहरु हतियारसहित आउँथे। त्यहाँ रक्तपात भएको सन्देशमार्फत् मधेशमा आतंकित मनस्थिति सिर्जना गर्ने मोर्चाको तयारी थियो।राजविराजपछि पनि थुप्रै ठाउँमा आक्रमणको प्रयास भयो। धेरै ठाउँमा एमाले कार्यकर्ता घाइते भएका छन्। तर, हामीले बाहिर ल्याउन चाहेनौं। परासीमा एमाले कुटिए, धेरै ठाउँमा गौँडा रोकेर सभास्थलसम्म आउन दिइएन। आममानिस त्रसित हुन्छन् भनेर यसबारे चर्चा समेत गरेनौं।
नारायणघाट पश्चिमका तीन/चार ठाउँमा आक्रमणकै प्रयास भयो। कपिलवस्तुमा पनि सानो संख्यामा भएपनि उनीहरु आएका थिए। नेपालगञ्जमा पनि त्यस्तै भयो। राजापुरमा बढी सतर्क थियौं। अघिल्लो वर्षको टीकापुर घटनाका कारण त्यहाँ धेरै नेताहरु नजाने कि भन्ने पनि थियो। तर, त्यहाँ भव्य सभा भयो। ०६४ जस्तो रक्तपातपूर्ण अवस्था सिर्जना गर्दै चुनावमार्फत् उदाउनले मोर्चाको रणनीति एमालेको संयमताले पूरै निस्तेज पारिदियो।
मधेशमा रोकिएको अभियान कहिले सञ्चालन गर्ने भनेर त्यहाँका साथीहरुले सोधिरहेकै हुन्छन्। उचित समयमा सभा गर्ने पार्टीले भनिसकेको छ। यसैले, फेरि दोहो¥याउँछु– यो अभियान आवश्यक थियो, उपलब्धीपूर्ण भएको छ।
मेची-महाकाली अभियान-‘सुस्ताएका कुदे, मुर्झाएका ब्युँझे’
Previous Articleखुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
Next Article वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध