कास्कीको पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरामा बर्डफ्लु रोग देखा परेपछि छिमेकी जिल्ला पर्वतसंगै धौलागिरी तीन जिल्लामा कुखरा आयातमा प्रतिबन्ध लगाईएको छ । पोखरा–१८ खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको हो । गत फागुन ६ गते परियारले पालेको हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गरिएको थियो। हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गर्दा एचफाईभ एनवान नामक भाइरस भेटिएको हो । अहिले संक्रमित क्षेत्रमा धमाधम हाँस र कुखुरा मार्न थालिएको छ । बर्डफ्लु फैलिन नदिन पंक्षी मारेर मात्रै हुदैन प्रभावित क्षेत्रमा चारकिल्ला तोकेर नियन्त्रण गर्नुपर्छ ।
संक्रमण थप फैलिन नदिनका सम्बन्धित निकाय अब सचेत बन्नुपर्छ । त्यसको लागि संक्रमित क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य बस्तुको ओसारपसारमा रोक लगाउनु पर्छ । त्यसैले पोखरामा बर्डफ्लु भेटिएपछि धौलागिरी अंचलमा कुखुरा आयातमा निषेध गरिएको छ । बर्डफ्लु फैलिन नदिनको लागि केन्द्र र स्थानीय तहको ¥यापिड रेस्क्यु टिम खटिनुपर्छ । जबसम्म रोग नियन्त्रणमा आउँदैन तबसम्म सम्बन्धित निकाय गंभीर भएर लाग्नुपर्छ । बर्डफ्लुलाई नै पुरै नियन्त्रणमा लिन नसके फेरि फैलने जोखिम हुन्छ। बर्डफ्लु रोक्नको लागि सबै जिल्लाका सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । सरकारी निकायसंग सहकार्य बर्डफ्लु नियन्त्रण गर्न संभव छ । धौलागिरीमा पनि बर्डफ्लु भित्रिन नदिन सचेतना अपनाईएको छ । सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई धौलागिरीमा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको छ । बर्डफ्लु नियन्त्रणको लागि धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगामा कुखुरा जाँचका लागि पशु कार्यालयका प्रतिनिधिसंगै प्रहरीको टोलीले प्रभावकारी भूमिका खेल्नुपर्छ ।
धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ । धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि सस्तो पर्ने हुँदा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा आयात गरिरहेका छन् । वर्डप्ल्यु नियन्त्रण आदेश २०६४ अनुसार पशुपंक्षी नष्ट गर्नु नै नियन्त्रण हुनु हो । हामीले यो विधि अपनाउने होभने बर्डफ्लु नियन्त्रण गर्न सक्छौ । सरकारले संक्रमण क्षेत्र घोषणा गरी नष्ट गरी पहिलो चरणमा बर्डफ्लु संक्रमित जीवित कुखुराहरु नष्ट गरिसकेपछि कुखुरा फार्म तथा सुली व्यवस्थापनमा लाग्नुपर्छ । अब जतिसक्दो चाँडो कुखुरा फार्ममा रहेको संक्रमित सुली व्यवस्थापनको प्रक्रिया पनि अघि बढाउनु पर्छ । बर्डफ्लु लागेका कुखुराको मासु सेवनले मानव शरीरमा गंभीर रोग निम्त्याउने हुँदा सबै सचेत हुनुपर्छ । मानव स्वास्थ्यमा असर गर्ने बर्डफ्लु रोक्नको लागि सम्बन्धित सरकारी निकाय, व्यवसायी र नागरिक समाजले पनि प्रभावकारी भूमिका खेल्न जरुरी छ ।