डा.विजयकुमार पौडेल
नेकपा (एमाले)ले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान यही फागनु २१ गते शनिबार मेचीको सीमानाबाट शुरु भयो । यो दिन नेकपा(एमाले)को जीवनमा गहीरो भावनासंग जोडिएको छ– शहीद दीवसको रुपमा । देशमा गणतन्त्र स्थापना भएको छ । सबैले खुलारुपमा आफ्ना धारणाहरु राख्न पाएका छन्, तिनै शहीदहरुको बलिदानबाट यो संभव भएको छ । मेची–महाकाली राष्ट्रिय अभियान शुरु गर्नका लागि यो दिन रोज्नु क्रान्तिकारी भावनात्मक, वस्तुगत र उपयुक्त देखिन्छ ।
यो कार्यक्रम ब्यवस्थित, भद्र र मर्यादितरुपमा अगाडि बढिरहेको थियो । यो कार्यक्रम सबै नेपाली जनतामा रहेको एकताको भावनालाई अझै बलियो बनाउने उद्देश्यले शुरु गरिएको थियो । यस कार्यक्रममा सबै नेपालीहरु– पहाडी, तराईवासी, सबै जाति–जनजातिको उल्लेख्य उपस्थिति थियो । नेताहरुले अत्यन्त संयमित भाषण गरेका थिए । यस कार्यक्रमलाई तराईका सबै भागमा पु¥याउन सक्दा एमालेको दृष्टिकोणलाई देशको सबैभागका जनताले राम्रोसंग बुझ्ने थिए । एमालेका विरुद्ध जे–जस्तो गलत प्रचार गरिएको थियो, त्यो आफैं खण्डित हुने थियो । यति भब्य र सभ्य कार्यक्रम स्थगित गर्न बाध्य पारिएको छ ।
एमालेलाई तराईमा प्रवेश गर्नै नदिने भनेर फतवा (अरु विचारका मानिसलाई मार्ने आदेश) जारी गर्नेहरु तत्कालका लागि सफल भएका छन् । देशको गणतान्त्रिक क्रान्तिको एक मुख्य नायक पार्टी नेकपा (एमाले) लाई आफ्नै देशमा शान्तिपूर्ण गतिविधि गर्नबाट रोक लगाउने प्रयास गरिएको छ । परिस्थितिलाई “मधेशी मोर्चा”को तर्फबाट जानाजान उत्तेजित बनाइएको छ । एमालेको कार्यक्रम गर्नै नदिने अडानमा रहेकाहरुको अहंका अगाडि पछाडि सर्नु तर आफ्नो कार्यक्रम गर्नु नै बुद्धिमानी हुने थियो । त्यही प्रयास गरियो । राजविराजको शुरुको कार्यक्रम रंगशालाबाट सारेर औद्योगिक क्षेत्रमा आयोजना गरियो । यसो गर्दा एमालेका विरुद्ध फतवा जारी गर्नेहरुको घमण्ड शान्त होला र कार्यक्रम सफल होला भन्ने नै आशा थियो । तर पहिचानको वकालत गर्नेहरुले अरुको अस्तित्व स्विकार गर्न चाहेनन् । नेपाल र नेपालीको हित हेर्न नचाहनेहरुले जातीय विद्वेश फैलाउने कुरामा फेरी आंशिक सफलता प्राप्त गरे ।
जर्मनीका हिटलरले सत्तामा रहेर यहुदीहरुका विरुद्ध जाति विनाशको अभियान नै चलाए । उनका नजरमा यहुदी जातमा जन्मिनु नै अपराध थियो । “मधेशी मोर्चा” बनाउनेहरुका नजरमा नेपालको एकताको कुरा गर्ने, हिमाल–पहाड–तराई जोड्ने गरी प्रदेश बनाउनु पर्दछ भन्ने, हिमाली–पहाडी–तराईवासी सबै जनता मिल्नु पर्छ भन्नु नै अपराध हो । उनीहरुका नजरमा राष्ट्रवादी हुनु नै अपराध हो । पोहोर सालको टिकापुर नरसंहार र हिजोको राजविराज गोलिकाण्डले यही प्रमाणित गर्दछ ।
यो देशमा क्रान्तिका लागि रगत बगाउने पार्टीले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पनि नपाउने ? हिटलर र “मधेशी मोर्चा”मा केही भिन्नता छैन । यो हिटलरी मोर्चालाई साथ दिनेहरु र हिटलरमा पनि कुनै भिन्नता छैन ।बोल्न, लेख्न, बिना हातहतियार शान्तिपूर्णरुपमा सभा–संगठन गरी आफ्ना विचार जनतालाई बुझाउन पाउने अधिकार प्राप्त गर्नका लागि नै शहीदहरुले बलिदान दिएका थिए । वि.सं. १९९७ सालका शहीदहरुको बलिदानको गर्भबाट नै २००६ सालमा नेकपाको जन्म भएको थियो । वि.सं.२०२९ साल फागुन २१ गते सुखानीको जंगलमा मारिएका शहीदहरुको रगतको गर्भबाट नै विभाजित कम्युनिष्ट आन्दोलनमा एकीकरणको लहर चलेको थियो । त्यही दिनको संझना गर्दै नेकपा(एमाले)द्वारा “मेची–महाकाली राष्ट्रिय अभियान” शुरु गरिएको थियो । हिँजोका दिनमा पञ्चायती शासकहरुको अनुमति बिना कुनै पनि सभा–समारोह गर्न पाईंदैनथ्यो । आज आएर तराइमा कार्यक्रम गर्नका लागि नेपालका कम्युनिष्टहरुले हिँजोका जमिन्दार र ठालुहरुको अनुमति लिनु पर्ने भयो । उनीहरुको अनुमति र आदेशबिना तराईमा एमालेले कार्यक्रम गर्न नपाउने भयो ।
विदेशी डलर खानेहरुले एमालेको कार्यक्रम विथोल्न जानेहरुको गल्ति देख्ने छैनन्, शान्तिपूर्णरुपमा सभा गर्ने एमालेको गल्ति देख्ने छन् । उनीहरुले प्रहरीमाथि जाइलाग्नेहरुको गल्ति देख्ने छैनन्, कार्यक्रममा सुरक्षा दिने प्रहरीहरुको गल्ति देख्ने छन् ।
कसैलाई लाग्न सक्छ– “मधेशी मोर्चाले फतवा जारी गरेको जान्दाजान्दै एमालेले किन सुरिएर तराईमा जानु परेको ?”
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई पनि त्यही शैलीमा भनेछन्– “मुठभेड बढाउने कि रोक्ने समीक्षा गर्नोस् !”
जनताको प्रश्न छ– “प्रधानमन्त्री प्रचण्ड नेपाल देशको सरकारका प्रधानमन्त्री हुन् या मधेशी मोर्चाका प्रवक्ता ?”
यस्ताखाले प्रतिक्रियामा तमाम नेपालीहरुको प्रतिप्रश्न छ– “के एमालेले शान्तिपूर्ण कार्यक्रम पनि गर्न नपाउने ? तथाकथित मधेशी मोर्चाका नेताहरु पहाडका हरेक कुना–काप्चामा सुरक्षित छन् । उनीहरु काठमाडौंमा बसेर “मधेशबाट एमाले हटाउने” फतवा जारी गर्दछन् । यो ज्यादती हो कि होइन ?पञ्चायती शासकहरुले त बहुदलवादीहरुलाई जेल हाल्थे, यी “मधेशवादीहरु”ले त कहिले गौर काण्ड, कहिले टिकापुर काण्ड त कहिले राजविराज काण्ड गरेर नरसंहार मच्चाउँछन् ।
यो देशका मानवअधिकारवादी, पत्रकार, सुरक्षा निकाय र देशका प्रमुख पार्टीहरुसंग टिकापुर काण्ड हुनुभन्दा केही दिन अघिको सभामा उत्तेजक भाषण गर्नेहरुको भिडियो रेकर्ड छ कि छैन ?
वर्तमान गृहमन्त्री विमलेन्द्र निधिले केही दिन अघिको एक सभामा एमालेका विरुद्ध दिएको उत्तेजक र आपत्तिजनक अभिव्यक्तिको भिडियो रेकर्ड छ कि छैन ?
गौर काण्डका खलनायकहरुलाई कुनै कारवाही नभएपछि टिकापुर काण्ड गर्नेहरुलाई हौसला मिलेको हो । टिकापुरकाण्डका खलनायकहरुलाई कुनै कानुनी कारवाही नभएपछि उनीहरुलाई राजविराज काण्ड गर्ने हौसला मिलेको हो ।
टिकापुर काण्ड गराउनका लागि खुल्लमखुल्ला भाषण गर्ने एकजनाले तत्कालिन गृहमन्त्री वामदेव गौतमलाई संसदीय समितिमै च्यालेन्ज गरेका थिए भन्ने सुनिएको हो । हो कि होइन, त्यो संसदीय समितिमा रहनुभएका अरु माननीयज्यूहरुलाई थाहा होला । टिकापुर काण्डका खलनायकले संसदीय समितिमा वामदेव गौतमलाई गरेको च्यालेन्जको आशय यस्तो थियो रे – “मैले टिकापुरमा साम्प्रदायिक भाषण गरेकै हो । लौ हिम्मत भए मलाई कारवाही गर ।” जब खुल्लमखुल्ला हिंसात्मक भाषण गरी मधेशी र पहाडी जनतालाई भडकाउनेहरुमाथि कुनै कारवाही हुँदैन, फेरी पनि गौर, टिकापुर र राजविराजकाण्ड घटित भैरहन्छन् ।
साम्प्रदायिक सदभाव बिथोल्ने अधिकार कसैलाई पनि हुँदैन । नेपालको संविधानले कसैलाई पनि देश, जनता र साम्प्रदायिक सदभावका विरुद्ध बोल्ने अधिकार दिएको छैन । जब संविधानको बर्खिलापमा जानेहरुमाथि कुनै कारवाही हुन्न तब उनीहरुको मनोबल बढ्ने नै भयो ।
अभिव्यक्ति स्वतन्त्रता नै दलीय स्वतन्त्रताको मूल मर्म हो । लोकतन्त्र भनेकै संविधानको बर्खिलाप नहुने गरी राजनीतिक गतिविधि गर्न पाउनु हो । कसैलाई शान्तिपूर्ण सभा गर्न पाउन्नस् भन्नु तानाशाही हो । अझ गृहमन्त्रीजस्तो पदमा बसेर “एमालेलाई तराइबाट खेद्ने” भनेर भाषण गर्नु त राष्ट्रद्रोह नै हो ।
जनता प्रश्न गर्न चाहन्छन् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई– “तपाईं लोकतन्त्रवादी हो कि होइन ? हो भने तत्काल विमलेन्द्र निधिलाई गृहमन्त्रीबाट फिर्ता बोलाउनुस् ।
नेपालको आम सञ्चार जगत धेरै बलियो छ । सञ्चारजगतको यो शक्ति जनताको बलिदानी संघर्षबाट नै प्राप्त भएको हो । धेरै गोप्य रहस्य पत्ता लगाएर जनतालाई सुसूचित गर्ने हैसियत नेपाली सञ्चारकर्मीहरुसंग छ भन्ने कुरा धेरैपटक प्रमाणित भएको छ । नेपाली जनता पत्रकारमित्रहरुबाट जान्न चाहन्छन् – “तपाईंहरु टिकापुरमा उत्तेजक भाषण गर्नेहरुको भिडियो किन सार्वजनिक गर्नुहुन्न ?टिकापुरमा उत्तेजक भाषण गर्नेहरुले नै अहिले राजविराजकाण्ड गराएका हुन् भन्ने सबैलाई थाहा छ । पत्रकार मित्रहरुले गृहमन्त्रीको उत्तेजक भाषणको भिडियो किन सार्वजनिक गर्नुहुन्न ? कम्तिमा जनतालाई यो देशका खलनायकहरुको अनुहार चिन्ने मौका त मिलोस् ।
टिकापुर काण्ड गराउनेहरुको मनोबल बढेकै कारणले हिंसात्मक र भडकाउ भाषण गर्नु “शान”को विषय भएको छ ।
यदी राजविराज काण्ड गराउनेहरु राजनीतिको छाता ओढेर फेरी पनि सुरक्षित भए भने यो देशमा हिंसा गर्नेहरु सम्मानित हुने संस्कृति विकसित हुने छ ।
तराईमा कुनै पनि शान्तिपूर्ण गतिविधि हुन नदिनु भनेको तराईमा लोकतन्त्रको जरो उखेल्नु हो । अहिले एमालेलाई तराईमा गतिविधि गर्नबाट रोक्नेहरुले भोलिका दिनमा माओवादीलाई रोक्ने छन् (विगतमा रोकेकै हुन्) । त्यसपछि कांग्रेसलाई रोक्ने छन् । देशका प्रमुख राजनीतिक पार्टीहरुलाई तराइमा काम गर्नबाट रोक्नु भनेको तराइका जनतामाथि तानाशाही लाद्नु हो । मधेशका जमिन्दारहरुले नै विगतमा त्यहाँका जनतामाथि तानाशाही लादेका हुन् । मधेशका महान नेपाली जनताले अब त्यहाँका जमिन्दार र ठालुहरुलाई चिन्नै पर्दछ । हिँजोका जमिन्दारहरुले बनाएका पार्टीहरुले कुनै हालतमा पनि मधेशी जनताको हित गर्ने छैनन् ।
तराईका जनतालाई चुस्न पल्केका जमिन्दार र ठालूहरुले कहिल्यै तराईको विकास हुन दिने छैनन् । यी जमिन्दारहरुले दुईतरिकाले तराईका जनतालाई लुट्ने योजना बनाएका छन्– (१) तराईका जनतालाई पहाडी जनताका विरुद्ध भडकाइरहने । यसो गरेर यी जमिनदारहरुले “फुटाउ र राज गर” भन्ने अंग्रेजहरुको नीति लागू गर्न चाहन्छन् । यिनीहरुले तराईका जनतालाई पहाडका जनतासंग मिल्न नदिएमा नै आफ्नो लूटको शासन सफल हुने ठानेका छन् । (२) तराईका जनताका बीचमा मधेशी र पहाडी भन्ने गलत भावना फैलाएर आफ्नो गुमेको राजनीतिक मार्केट कब्जा गर्ने र फेरी पनि चुनाव जित्ने आधार तयार गरिरहने । हरेक तहका चुनाव सधैं जमिन्दारहरुले जित्ने, तराईको गरिबलाई कहिल्यै उठ्न नदिने ।
अहिले एमालेको कार्यक्रममा “मधेशी मोर्चा”द्वारा योजनाबद्धरुपमागरिएको आक्रमणबाट यदि माओवादी केन्द्र र नेपाली कांग्रेस भित्रभित्रै खुसी भएका छन् भने त्यो उनीहरुको धेरै ठूलो भूल हुनेछ । हाम्रो तराईमा उखानै छ– “बछडु खाए वाले पँडरु नाहिँ छोडिहें ” (बाच्छो खानेले पाडो बाँकी राख्ने छैन) ।
एमालेको अगाडि मेची–महाकाली राष्ट्रिय अभियानलाई पुरा गर्नु प्रतिष्ठाको विषय बनिसकेको छ । यो जसरी पनि पुरा गर्नै पर्दछ । यदि प्रायोजित हिंसाबाट एमाले पछाडि हट्यो भने त्यसले तराईमा जमिन्दारी शासन चलाउन चाहनेहरुलाई नै मद्दत गर्ने छ । एमालेको अभियान सफल बनाउनु तराइका जनताको हितमा छ ।
Previous Articleसिसि क्यामरा र शान्ति सुरक्षा
Next Article २४ फागुन २०७३, धौलागिरी स्टार साप्ताहिक