काठमाडौं, ११ माघ – लामो समयको खोज, अध्ययनअनुसन्धान, विश्लेषण र सम्बन्धित केही लेखरचनापछि गरिएको गहन परीक्षणबाट भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व प्रमाणित भएको छ । भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको स्वरुपको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा हालै सम्पन्न भएको एक परीक्षण र सम्बन्धित अनुसन्धानबाट निक्लिएको हो । वर्षौँदेखि बारम्बार प्रदर्शन गरिँदै आएका केही परीक्षणहरु र ‘एसएटिएम–१’ को सहायताले गरिएका पछिल्ला आखिरी जाँचहरु तथा बाह्र दिन लगाएर गरिएका पुनर्जाँचहरुको निष्कर्षपछि उक्त भौतिक शास्त्रीय परिमाणको अस्तित्वको प्रमाणित भएको जानकारी गराइएको हो ।
‘दुर्यान्तर’ कुनै यन्त्रको आविष्कार पनि होइन तर नवीन र उपयोगी भौतिक शास्त्रीय परिमाण भने अवश्य हो । यसलाई एउटा नित्तान्त नयाँ डिस्कभरी वा पहिल्याइ वा भेट्टाइ भनेर बुझ्न सकिन्छ । यसको उपयोगिता भौतिक विज्ञान र गणितका क्षेत्रमा अलिक बढी हुन्छ । हामीलाई कुनै विन्दुबाट कुनै विन्दुसम्मको दुरी थाह छैन भने लगानी भएको शक्ति र समयका आधारमा सो कुरा थाह पाउन ‘दुर्यान्तर’ले भूमिका निर्वाह गर्दछ र प्रतित्यस्तै भूमिका पनि यसले निर्वाह गर्दछ । यस परिमाणबाट लगानी गर्नुपर्ने शक्तिको ठूलो परिमाण पनि पहिल्यै सही रुपमा थाह पाउन सकिन्छ । ‘सुव्रत’को मान्यताको आधारका रुपमा पनि यस परिमाणले अभिन्न र अपरिहार्य भूमिका निर्वाह गर्दछ, खोजकर्ता भविन्द्र कुँवरले जानकारी गराए ।
कुँवरले भनेका छन्, ‘दुर्यान्तर’ अन्तर तहमा रहेर सधैँ भूमिका निर्वाह गर्दै आएको तर पत्ता नलागेको एउटा भौतिक शास्त्रीय परिमाण थियो । भौतिक शास्त्रको इतिहास, पाठ्यपुस्तकहरु र प्रयोगहरुमा यसलाई कतै पनि वर्णन, विश्लेषण र अनुप्रयोग गरिएको पाइँदैन । तर उक्त परिमाण लगानी भएको बल वा शक्तिसँग अनुक्रमानुपातिक सम्बन्ध राख्ने गरेको पाइयो । दुर्यान्तरको मात्रा र संख्याले पिण्डजसरी नै बलसँग अनुक्रमानुपातिक वा समानुपातिक सम्बन्ध राख्ने र समयान्तरालको मात्राले बलसँग व्युत्क्रमानुपातिक सम्बन्ध राख्ने कुरा ‘एसएटिएम–१’ को सहाराबाट जाँच गर्दा देखिन गएको हो । ‘दुर्यान्तर’ पत्ता लागेपछि भौतिक शास्त्रमा बढ्दो गतिमा रहेको कुनै वस्तुको गन्तव्य, सम्बन्धित अवधि, गन्तव्यको विन्दुमा रहने आखिरी गति आदि परिमाणहरुको पूर्वानुमान वा भविष्यवाणी ठ्याक्कै मिल्नेछ । जबकि हालसम्मका संसारभरि प्रचलित कुनै पनि भौतिक शास्त्रीय सूत्र तथा नियमहरुले यी कुराहरुको पूर्वानुमानको सही भविष्यवाणी गर्न सकेका छैनन् । भौतिक शास्त्र पुनर्निर्माण अभियानको पेजमा उल्लेख छ ।
न्युटनले स्याउ खसेको धेरै समयपछि उक्त आकर्षण बललाई ‘गुरुत्वाकर्षण बल’ भनी नाम दिएझैँ ‘दुर्यान्तर’का विषयमा अर्थपूर्ण नाम नजानेरै भए पनि विगत अठाह्र वर्षदेखि चासो रहेको र पछिमात्र यसको नाम दिइएको कुँवरले बताएका छन् । यस क्रममा पुस्तकालयहरु, पाठ्यपुस्तकहरु, अनुसन्धानपत्रहरु, इन्टरनेट आदिको प्रयोग गरी खोजी र अनुसन्धान गर्ने कार्य भयो । प्रवचन तथा अन्तक्रिर्याहरु पनि भए । तर आजसम्म कहिँकतै यससम्बन्धी अध्ययन–अनुसन्धान गरेको पाइएन । त्यसपछि यो विषयलाई परीक्षण गरी यसको अस्तित्वको यकिन गर्न विभिन्न कोणबाट परीक्षण गर्ने कार्य भयो । अन्ततः यसको अस्तित्व अकाट्य र अनिवार्य देखियो । यसरी आएको परिणामलाई सार्वजनिक नगरी यसै राख्दा भौतिक शास्त्री, गणितज्ञ र समग्र मानवपुस्तालाई अरु धेरै समयसम्म यसबाट हुने लाभको अभाव हुनेछ भन्ने लाग्यो र यो परिमाणबारे जानकारी गराउनु अनिवार्य ठानेँ, खोजकर्ता कुँवरको भनाइ छ ।
यो परिमाण कुनै प्रचलित सिद्धान्त वा नियमप्रतिको असहमति वा विमतिको कुरा होइन, आफैमा स्वतन्त्र र नित्तान्त मानवउपयोगी भौतिक शास्त्रीय परिमाणको नवीनतम् पहिल्याइ वा भेट्टाइ हो । कुनै समयमा महान् वैज्ञानिकहरुले कुनै पहिल्याइ वा पत्तालगाइलाई केवल भेट्टाएँ भन्दै चिच्चाएर जानकारी दिन सकिन्थ्यो, यसको उदाहरणका रुपमा आर्किमिडिजलाई लिन सकिन्छ । अहिले शैलीहरुमा केही परिवर्तन भएको छ । ज्ञानको भण्डार ठूलो छ । नयाँ कार्य कहिँकतै कसैका कार्यसँग मिल्छ कि भनी लामो समय लगाएर पूर्वकार्यको गहन अध्ययन गर्नुपर्छ । त्यसैले यो पहिल्याइको यकिन गर्न लामो समय लाग्न गयो । ढिलै भए पनि यसको प्राप्तिले अन्य विषयका अतिरिक्त अन्तर कलन र अभिन्न कलनका समस्याहरुलाई पनि समाधान गर्न सहयोग पुग्नेछ, खोजकर्ता कुँवरले थप जानकारी गराए ।
भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवर हाल काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्का प्रबन्ध निर्देशक छन् । विगत केही वर्षदेखि भौतिक शास्त्र पुनर्निर्माण अभियानका परीक्षणमूलक क्रियाकलापहरु नेपालका विभिन्न जिल्लाहरुमा सन्चालन हुँदै आएका छन् । हालै उक्त अभियानमूलक संस्थाको जापान सन्जालसमेत गठन भएको छ । उनले केही वर्षअघि नेपालका केही विश्वविद्यालय र कलेजका प्रयोगशालाहरु तथा अनुसन्धान केन्द्रमा ‘कुनै वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल उक्त वस्तुले अनुभव गर्ने ऊध्र्वचापभन्दा घटी वा बढी हुन्छ’ भन्ने नयाँ तथ्यसमेत प्रमाणित गरेका थिए र विभिन्न शिक्षण संस्थाका रिपोर्टहरुमा पनि यो दाबीलाई सही भएको प्रमाणित गरिएको थियो । पछिल्लो समयमा प्रकाशित उनका ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ दुई अनुसन्धानात्मक लेखहरुले भौतिक शास्त्रीहरुलाई रोचक समाधान दिएका थिए भने अर्कातिर उनलाई नै ‘दुर्यान्तर’को अस्तित्वलाई पुनः परीक्षण गर्न प्रेरित गरेका थिए ।
‘सुव्रत’को मान्यता सैद्धान्तिक र गणितीय परीक्षणका आधारमा प्रमाणित गर्न कुँवरलाई केही समय लागेको थियो । त्यसपछि उनले ‘दुर्यान्तर’को परीक्षणका लागि पहिलेका परीक्षणमा प्रयोग गरिँदै आएको ‘एसएटिएम–१’ लाई परीक्षणका लागि छान्ने योजना बनाए । अनुसन्धानमूलक सामग्री राखिएको कोठामा हेर्न जाँदा उक्त यन्त्र भुकम्पका बेला अरु चीजले थिचिन गई केही भाँचिएको अवस्थामा रहेको देखियो । उनले केही दिन लगाएर उक्त यन्त्र प्रयोगयोग्य बनाए । ‘एसएटिएम–१’ मा पहिलेको भन्दा केही सुधार पनि भएको छ र लक्षित परीक्षणका लागि अनुकूल बनाइएको छ ।
पटकपटक गर्नुपर्ने विशेष परीक्षणका लागि कोठाभित्रकै स्थान पर्याप्त भए पनि धेरै संख्याका समयान्तरालहरुका लागि अग्लो घर चाहिने हुनाले खोजकर्ताले आफू भाडामा बसेको घरका घरबेटीलाई छतमा गई परीक्षण गर्न दिनका लागि अनुमति मागेका थिए । अनुमति पाएपछि उनी त्यस घरको परीक्षण स्थलको नापजाँचतिर लागेका थिए । यसपछि उनले चाहिने अन्य सामान जुटाएर परीक्षण गर्ने योजना बनाए । परीक्षणमा आवश्यक सहयोग गरिदिन र परीक्षणस्थलमा वस्तु खस्दा चोट लाग्न सक्ने भएकाले केटाकेटीहरुलाई प्रवेश गर्न नदिनका लागि वरपरका सहयोगी छिमेकीहरुको सहयोग लिइएको थियो । भौतिक शास्त्र पुनर्निर्माण अभियान चितवन शाखाका सदस्य मिथुन कुँवर, शिक्षिका एलिना सापकोटा, विज्ञान विषय अध्ययनरत कुशल कुँवर लगाएतको उपस्थिति थियो । यसपछि धेरै संख्याको समयान्तरालका लागि पनि परीक्षण सम्पन्न गरियो । प्राप्त तथ्यगत परिमाणहरुको जाँच, वस्तुगत विश्लेषण र निर्णयीकरणबाट प्राप्त निष्कर्ष अन्ततः विशेष परीक्षणबाट प्राप्त भएको निष्कर्षसँग मिल्न गयो । यसबाट ‘दुर्यान्तर’ को अस्तित्व पूर्णतः यकिन हुन पुगेको थियो ।
‘दुर्यान्तर’का खोजकर्ता भविन्द्र कुँवरले सर्वप्रथम वि.सं. २०४७ सालमा हावाबाट चल्ने यन्त्रको एउटा रोचक संरचना निर्माण गरेपछि भौतिक विज्ञानतर्फ रुचि बढाउँदै आएका थिए । उनले ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाणको खोजी भने बिगत अठाह्र वर्षपहिलेदेखि गर्दै आएको बताए । उनले वि.सं. २०५५ सालमा क्याम्पसबाट उकालो बाटो भएर एउटा वस्तुसँग खेल्दै घरतिर जाँदा अकस्मात एउटा सोँच आएपछि त्यस नयाँ सोँचलाई यान्त्रिक संरचनाको स्वरुप दिने तौरतरिकाका लागि नजिकैको चौतारोमा बसेर धेरै बेर सोचेको बताउँछन् । त्यसपछि उनको मनमा सोहीवमोजिमको यन्त्रनिर्माणको योजना बनेको थियो ।
कुँवरले त्यतिबेला यन्त्र बनाउने योजना बनाए पनि अनुकूल वातावरण वि.सं. २०६० मा मात्र मिल्न गयो । सुरुमा सो यन्त्रको शक्तिका लागि मापन गर्न आवश्यक प्रचलित भौतिक विज्ञानका नियम तथा सूत्रहरुको खोजी र जाँच गर्ने कार्य थालनी गरिएको थियो । सोही वमोजिम जागिरका रुपमा दिउँसो स्कुल पढाउने र साँझबिहान बागलुङको ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा यन्त्र निर्माण प्रयास गर्ने कार्य उनले गरे । तर विविध कारणवश उक्त कार्य सम्पन्न हुन सकेन । यसपछि यन्त्रमा भन्दा पनि यन्त्रमा प्रयोग हुने प्रायोगिक सूत्र तथा नियमहरुको अध्ययन र खोजीतर्पm उनको रुचि बढेर गयो । उनी भन्छन्, विज्ञानमा पनि कुकुर हान्दा ढुकुर पर्ने उखान लागु हुँदो रहेछ । एउटा सोचेर गर्यो नतिजा नसोचेको आइदिन्छ अनि खोजको मोड परिवर्तन हुन जान्छ । अज्ञानता र भवितव्य नतिजा भौतिक शास्त्रको नवीनताका बलिया अस्त्र रहेछन् ।
खोजकर्ता कुँवरले विभिन्न कलेज र विश्वविद्यालयमा गरी दर्जनबढी भौतिक शास्त्रीय प्रवचनहरु दिएका छन् । वि.सं. २०६९ माघ २७ मा अरनिको इन्टरनेशनल कलेज ललितपुर, वि.सं. २०६९ पुस २८ मा युनाइटेड स्कलर्स एकेडेमी कलंकी र वि.सं. २०६७ देखि विभिन्न समयमा काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्मा ‘एसएटिएम–१’ को सहायताले सम्बन्धित परीक्षणहरु प्रदर्शन गरेका तस्वीर र जानकारीहरु सम्बन्धित मितिहरुमा भौतिक शास्त्र पुनर्निर्माण अभियानको फेसबुक पेजमा पोष्ट गरिएको देखिन्छ । त्यसै गरी उनले दर्जनौँ रिसर्चपेपर सम्पन्न गर्नुका साथै भौतिक विज्ञानसँग सम्बन्धित पाँचवटा अनुसन्धानमूलक पुस्तकाकार कृतिहरु प्रकाशित गरिसकेका छन् । पछिल्लो समयमा विभिन्न सिद्धान्त तथा नियमहरुको जाँचका लागि भनेर केही उपकरणका अतिरिक्त ‘एसएटिएम–१’, ‘आरटिएम–१’, ‘सियुएस–१’ आदि यन्त्रहरुको निर्माण पनि उनले गरेका छन् । ती यन्त्रहरुको प्रयोगबाट गरिने परीक्षण सफल भएपछि उपत्यकाका विश्वविद्यालय तथा विभिन्न कलेज र शिक्षण संस्थाहरुमा परीक्षण प्रदर्शन तथा सम्बन्धित प्रवचन प्रस्तुत गर्ने काम पनि सम्पन्न भएको छ ।
कुँवर अहिले अनुसन्धानमूलक कार्य समग्र देश र मानव जातिको हितसँग जोडिएको विषय भएको र व्यक्तिगत लाभको विषय नभएकाले अनुसन्धानका लागि सहयोग पनि जुटाउनुपर्ने सोँचमा रहेका छन् । उनले भने, अन्य देशहरुमा कुनै अनुसन्धानका लागि अर्बौँ डलरको सहयोग जुटाएको देखिन्छ । ती देशहरुमा कोष संकलन र आर्थिक सहयोगबिना अनुसन्धान कार्य हुँदैन भन्ने मान्यता नै स्थापित भएको देखिन्छ । यसरी सहयोग जुटाएर अनुसन्धान गर्ने अनुसन्धान केन्द्रहरुको फेहरिस्त लामै छ । उनीहरुले हामीलाई पनि अनुसन्धानमूलक कार्यहरु सहयोग लिएर नै गर्नुपर्छ भन्ने प्रेरणा, सन्देश र शिक्षा दिएका छन् । उनीहरुको परिवेश, देश वा भुगोल हाम्रोभन्दा फरक छ भन्ने कुरामा दुई मत छैन तर हामी पनि असल कुराका लागि सहयोग मिल्ने देश र परिवेशबाट एक रत्ति टाढा छैनौँ ।
भौतिक शास्त्र पुनर्निर्माण अभियानका क्रियाकलापहरुका लागि विभिन्न स्थानमा कार्यक्रम गर्दा सम्बन्धित संस्था, बुद्धिजीवी वर्ग र शुभेच्छुकहरुको सदभाव र सहयोग प्राप्त हुँदै आएको देखिन्छ । यसले मात्र अनुसन्धानका सम्पूर्ण कार्यहरु विश्वव्यापी रुपमा अघि बढाउन सहज देखिँदैन । कुँवरले भने, संसारभरिका गणितज्ञ, भौतिक शास्त्री, अनुसन्धानकर्ता र विद्यार्थीहरु यस अनुसन्धानबाट लावान्वित हुने कुरामा दुई मत छैन । यस प्राप्तिलाई विश्वव्यापी गराउनु सबै पक्षको कर्तव्य र आवश्यकता हो । अरु देशमा गरिने अनुसन्धानमूलक कार्यका लागि पाँचसात अर्ब डलरबढी रकम पनि सहयोग सम्भव हुने गरेको पाइन्छ भने हामी हाम्रो देशमा पाँचसात हजार डलरको अपेक्षा गर्दैमा के बिग्रन सक्छ ? अन्य विभिन्न प्रकारका अनुसन्धानका लागि उनले नेपालीसमक्ष सहयोगको पनि अपेक्षा राखेका छन् ।
अठाह्र वर्षको अनुसन्धानपछि ‘दुर्यान्तर’को अस्तित्व प्रमाणित
Previous Articleओंठलाई मुलायम र गुलाबी बनाउने घरेलु काइदा
Next Article माघ ११ गतेदेखि १७ गतेसम्मको साप्ताहिक राशिफल