सुनदेवी रसाइली
मुस्ताङका स्थानीयले मृत्यु संस्कार गर्ने समयमा आवश्यक पर्ने भवनको अभाव खेपी रहेको अवस्थालाई मध्येनजर गर्दै शसस्त्र प्रहरी वल नेपालले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआइजी) कुलबहादुर नेम्वाङले घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।
क्वीक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत निर्माण गरिएको मलामी पुजा घर हस्तान्तरणमा बोल्दै प्रमुख अतिथि नेम्वाङले जनताको आवश्यकता जे छ त्यो अनुसार तत्काल गर्ने कार्य गरेको बताउनुभयो । उहाँले जनता सँगै भएर काम गर्ने र जनताको काम गर्ने भएकाले नै भवन निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो । आवश्यकता रहेको ठाउँमा निर्माण भएको संरचनाको सुरक्षा र सही प्रयोग हुने आशा लिएको धारणा राख्नु भएको थियो । कालिगण्डकी नदि किनारमा निर्माण गरिएको उक्त भवनमा झण्डै ५० जना मानिसहरु एकसाथ भित्र अटेर पुजा गर्न मिल्ने बताइएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख मायाँ गुरुङ, उपप्रमुख आइतेलाल थकाली लगायतको उपस्थिति रहेको कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, गुल्मपति मणिकुमार राई लगायतले बोल्नु भएको थियो ।
सबैसँग सहकार्य गर्दै मलामी पुजाघर बनाइ घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेर सशस्त्र प्रहरीले जनता सँगै रहेको देखाएको घरपझोङ गाउँपालिका अध्यक्ष लालचनले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाल द्वन्द्व कालमा राज्यका लागि आवश्यकता महशुष भएकोले सशस्त्र प्रहरीबलको स्थापना भएको धारणा राख्नु भयो । उहाँले भन्नुभयो–‘हाल सम्म राज्यले दिएको जिम्मेवारी पालना गरेको छ, सिमा सुरक्षा, जनताको सुरक्षा, विपद् व्यवस्थापन, सँगै विपद्मा उद्धारमा सशस्त्रको सहभागिता राम्रो छ, हिमाली जिल्ला मुस्ताङमा पनि उच्च योगदान छ ।’
सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म हेडक्वाटर मुस्ताङको ११ औं स्थापना दिवसको अवसर पारेर भवन हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक मणिकर्ण राईले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लामा अबस्थित नेपाली सेना, नेपाल प्रहरी, अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, स्थानिय ब्याक्ति समेतको उपस्थिति रहेको डिएसपी राईले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक(इन्सपेक्टर) विष्णु पौडेलले गर्नुभएको थियो ।