अमृत बास्कुने
म्याग्दीमा बसोबास गर्ने गुरुङ समुदायले पुस १५ अर्थात् तमु ल्होसार पर्व मनाएका छन् । म्याग्दीको बेनी नगरपालिका ४ थामाडाँडामा बसोबास गर्ने गुरुङहरुले आफ्नो मुख्य पर्व तमु ल्होसार मनाएका हुन् ।
बेनी नगरपालिका–४ थामडाँडा (साविक सिंगा गाविस–१)मा रहेका गुरुङहरुले आफ्नो पुख्र्यौलि बोनपो धर्म अनुसारको विधि गरेर पर्व मनाएको तमु प्येल्हु संघ म्याग्दीका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । आफ्नो नित्य कर्म सहित पुजा अर्चना गरेर पर्व मनाएको उहाँको भनाई छ ।
ल्होसार पर्वकै अवसरमा जिल्ला स्तरीय सि र डि लेभलको खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगिता मंगलबार सम्ममा सम्पन्न गर्ने गरी खेल सञ्चालन भै रहेको अध्यक्ष गुरुङको भनाई छ ।
त्यस्तै बेनी नगरपालिका–४ (साविक सिंगा गाविस–२) मा क्षेत्र र वरपर बस्ने गुरुङ समुदायले पनि ल्होसारको बिधि अनुसारको पुजा अर्चना गरेर पर्व मनाएका छन् । सबैले आ–आफ्नो परम्परा अनुसारको विधि अपनाएर पर्व मनाएको शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।