रघुगंगा गाउँपालिका–४ दग्नाममा जनता माध्यमिक विद्यालयको भवन पर्खाल सहित भत्किदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ ।
जनता माध्यमिक विद्यालय दग्नामका शिक्षक गुन पुनका अनुसार विद्यालयको भवन भत्किदा छिमेकी थजालीको घर पूर्ण रुपले क्षती भएको हो । बिहान उज्यालो भै सके पछि विद्यालयको पर्खाल भत्किएको हुनाले अन्य कुनै हताहती नभएको भए पनि घर पूर्ण रुपमा क्षती भएको छ ।
रघुगंगा गाउँपालिका– २ का झलक शर्माका अनुसार इन्द्रमानकी बुहारी अशु थजाली र नाती गेनीस थजाली सामान्य घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार विद्यालयको तीन कोठे कच्ची भवन भत्किदा इन्द्रमानको एक तले घर पूर्ण रुपमा क्षती भएको हो ।
त्यस्तै रघुगंगा गाउँपालिका– ७ चिमखोलामा ५५ वर्षीय डिलबहादुर तिलिजाको दुई तले घर पहिरोको उच्च जोखिममा रहेकोले उहाँको पाँच जनाको परिवारलाई छिमेकीको घरमा राखिएको छ । ५६ वर्षीय लालबहादुर पाइजा, ५४ वर्षीय दिलबहादुर पुनको घर पनि उच्च जोखिममा रहेकोले पाँच पाँच जनाको परिवारलाई छिमेकीको घरमा आश्रयको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
५५ वर्षीय नरबहादुर गर्बुजाको १२ ओटा बाख्रा सहितको गोठ पहिरोले बगाएको इन्सपेक्टर रायमाझीले बताउनुभयो । त्यस्तै ६९ वर्षीय डेकबहादुर कराई पुनको पाँच ओटा माहुरीको घार सहित गोठ बगाएको छ । त्यस्तै ढिकी संग्राहलय रहेको दुई तले पक्की सामुदायीक भवन पहिरोले बगागएर पूर्ण क्षती भएको प्रहरीले जनाएको छ ।