लगातारको वर्षापछि आएको पहिरोले सडक अबरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।
बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडकको सोझो यातायात सेवा रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अबरुद्ध भएको छ । बिहीबार देखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानै देखि भने पुरै बन्द भएको छ । रघुगंगा गाउँपालिका–२ राखुका युवा झलक शर्माका अनुसार बेनी–जोमसोम सडक यात्रा जोखिमपूर्ण रहेको छ । धेरै ठाउँहरुमा पहिरो झर्ने हुँदा यात्रा गर्नु निकै कष्टकर र जोखिम पनि भएकोले यो समय अत्यावश्यक बाहेक यात्रा नगरेकै जाती हुने उहाँको भनाई छ ।
वर्षा बढे सँगै असार १५ देखि जोमसोम–पोखरा हवाइ उडान पनि बन्द भएकोले जटिल प्रकारको बिरामी भएको खण्डमा उपचारका लागि लैजान समेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाई छ । उहाँले भन्नुभयो–‘मुस्ताङ जिल्ला भित्रका सबै सडकहरु साढे १२ बजे सम्म सञ्चालनमा आएको भएपनि म्याग्दी तर्फ सडक खुलाउन नसकिएको हुँदा हामीलाई समस्या भएको छ ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयका अनुसार जोमसोम–बेनी सडकको मार्फामा खोलामा बाढी आउँदा पटकपटक अबरुद्ध हुने गरेको छ । राती देखि बन्द भएको मार्फाको राजखोलामा दिउँसो खुलेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडक खण्डको म्याग्दी तर्फ रघुगंगा गाउँपालिका–२ तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अबरुद्ध भएको छ । त्यस्तै भुरुङतातोपानीमा अबरुद्ध सडक अहिले खुलेको भए पनि बैसरीमा अबरोध अहिल्यै हट्ने नदेखिएकोले बेनी–जोमसोम सिधा यातायात हुन सक्ने अवस्था भने छैन ।
त्यसैगरी पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीरमा पूर्णरुपमा सडक अबरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिका–४ बाङ्गेभिरमा पनि सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार वर्षाले गर्दा अधिकांश सडक अबरुद्ध हुँदा ग्रामिण जनजीवनमा समस्या भएको छ ।