सुनदेवी रसाइली
घरपझोङ गाउँपालिकाको आयोजना र साइकल सिटी पोखराको संयोजनमा मिति २०८२ जेष्ठ १६ गते आयोजित साइकल तथा घोडा र्यालीले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा नयाँ आयाम थपेको छ। यो र्यालीमा जुनियर, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, देशभरका २३ जिल्ला र भारतको सिक्किमबाट समेत गरी करिब ३२० साइकल यात्रीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय विकल शेरचन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
यो र्यालीले घरपझोङ गाउँपालिकाका ५ वटै वडा अन्तर्गतका —जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र एर्पोट हुँदै गाउँपालिकाको कार्यालय भवनसम्मको यात्रा तय गरेको थियो। बिहान ७:०० बजे कभर्ड हलबाट सुरु भएको र्याली साँझ ५:०० बजे गाउँपालिकाको कार्यालय भवनमा पुगेर समापन भएको थियो। यस र्यालीमा स्थानीय ३० जना सहभागीहरूले आफ्नो सांस्कृतिक पहिरनमा घोडा र्यालीमा भाग लिएका थिए।
सहभागीहरूमा काठमाडौँबाट ५०, कास्कीबाट ६०, पाल्पा २६, भैरहवा २३, हेटौँडा ३५, रूपन्देही ३५, नवलपरासी १८, लमजुङ १७, बारा १९, नेपालगन्ज १२, धादिङ ९, बुटवल ५, ललितपुर ५, भक्तपुर ५, सिक्किम १, झापा १, भरतपुर १ र मुस्ताङ १० जना समावेश थिए। विभिन्न सङ्घ-संस्था, क्लब र स्थानीयवासीको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई जीवन्त बनाएको थियो।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यो कार्यक्रम छोटो समयमानै आयोजना भएको र साइकल सिटी पोखराको सहजीकरणले सफल भएको बताए। उनले भने, “मुस्ताङको पर्यटन प्रवर्द्धनमा यो र्यालीले साइकलमार्फत मुक्तिनाथ यात्रा सम्भव छ भन्ने सन्देश दिएको छ।” यस्तै, प्रमुख अतिथि माननीय विकल शेरचनले सम्पूर्ण साइकल यात्रीहरूलाई मुस्ताङको पर्यटकीय स्थलहरू, रहनसहन र वास्तविकताको नजिकबाट अवलोकन गर्न निम्तो दिँदै आयोजक टिमलाई धन्यवाद दिए। उनले यो र्यालीले पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना उजागर गरेको बताए।
कार्यक्रमको समापन गाउँपालिकाको कार्यालय भवनमा भएको थियो, जहाँ साइकल र्याली र घोडा र्यालीमा सहभागी सबैलाई मेडल प्रदान गरी सम्मान गरिएको थियो। साथै, सहयोग गर्ने विभिन्न सरोकारवाला निकायहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो। यो र्यालीले मुस्ताङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र वातावरणमैत्री पर्यटनको सन्देशलाई देश-विदेशमा पुर्याउन सफल भएको छ।
यो र्यालीले स्थानीय समुदाय, पर्यटक र साइकल यात्रीहरूबीच एकताको भावना सिर्जना गरेको छ भने मुस्ताङलाई साइकल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।



