रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई २१ लाख ६७ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सको बेंसीशहर शाखाले सवारी दुर्घटनामा परेर निधन भएका बेंसीशहर नगरपालिका ८ की अनिता थापा श्रेष्ठको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।
अनिताको गत वैशाख ७ गते डुम्रे–बेंसीशहर सडक अन्तरगत तनहुँको भानु नगरपालिका १० नेपालडाँडामा सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।
इन्स्योरेन्सका लमजुङ शाखा प्रमुख राजु गुरुङका अनुसार अनिताले इन्स्योरेन्समा १० लाख रुपैयाँको बीमा गरेकी थिइन् । बीमा अवधिमा उनले ६ किस्ता मात्र भुक्तानी गरेकी थिइन् । अनिताको परिवारले अनिताको निधनपछि बीमापातको रकम र बोनस गरी २१ लाख ६७ हजार रुपैयाँ पाएको शाखा प्रमुख गुरुङले बताए ।
बीमा रकमलाई बेंसीशहर नगरपालिका ८ का वडाअध्यक्ष पवित्रा थापा रानाको उपस्थितिमा बिहीबार बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले एजेन्सी उत्प्रेरण तालिम समेत आयोजना गरेको थियो । लमजुङ शाखाका प्रमुख राजु गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले प्रशिक्षण दिएका थिए । लमजुङखबरबाट साभार