म्याग्दीको अन्नपूर्ण गाउँपालिका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक आर्थिक प्रतिवेदन अनुसार बेरुजु कम गर्ने कार्यालयहरु मध्ये देशमै कम बेरुजु रहेको तेश्रो स्थानीय तह बनेको छ । प्रतिशतका हिसाबले हेर्दा करिब शुन्य नजिक अर्थात् शुन्य दशमलब शुन्य चार देखिदा देशकै तेश्रो एवम् गण्डकी प्रदेशको पहिलो बनेको छ । यस गाउँपालिकामा सबै पक्षले गरेको प्रयासले गर्दा नै यो बेरुजु शुन्य नजिक पुग्न सकेको भन्ने नै आम धारणा देखिन्छ र त्यसमा स्थानीय तहका प्रमुख तथा समग्र परिवारकै धारणा उस्तै छ । सबैले गरेको प्रयास र सुशासन तर्फको लगावकै कारण नै आर्थिक पारदर्शीताको अनुहार देखिएको र यो प्रकारको नतिजा आएको भन्ने गाउँपालिका अध्यक्ष भारतकुमार पुनको धारणा तथा यसै सन्दर्भमा अमृत बास्कुनेले गर्नुभएको कुराकानीको सम्पादीत अंश ः
देशैभरमा बेरुजु कम गर्नेमा तेश्रो स्थानमा पर्नु भएको छ कस्तो महशुष भएको छ?
– हामीले गरेको के भन्ने कुरा जनताले बुझी दिनु भयो भने हामीहरुल्े आफूले गरेको काम र देखिएको नतिजा पनि अझै राम्रो हुने हो । कुनै पनि निकायमा आर्थिक पाटो भनेको सबै भन्दा महत्वपूर्ण काम हो । कसले के भन्ने भन्दा पनि राज्यको आर्थिक सुसासनको जाँच गर्ने निकाय हो महालेखा र त्यसले नै निकालेको नतिजाले हामीलाई जुन स्थानमा उभ्याएको छ यो नै पालिकाले खुशी मनाउने कुरा हो । यो नतिजा नै अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण र आर्थिक पारदर्शीता सुशासन युक्त काम हो । सुशासन तथा मितव्यीताको लागि हामीले के गरेका थियौं भनिरहनु परेन, महालेखाले देखाएको नतिजा नै सहज अनि राम्रो हो । पारदर्शीताका विषयमा कुरा गर्नेहरुका लागि पनि यो नै निकै राम्रो उदाहरण हो भन्दा फरक नपर्ला । हामीले त नतिजा निकाल्यौं तर यही कुरा सबै जनताले यो बुझीदिनु भयो भने थप राम्रो हुन्थ्यो । तर आर्थिक पारदर्शीता तथा बेरुजु शुन्य नजिक पुगेको भन्ने कुरा भन्दा पनि जनताले भौतिक विकासको पाटोमा बढी ध्यान दिने हुँदा हाम्रो पारदर्शीताको बारेमा जनताले अझ राम्रो संग बुझीदिनु हुन्नकी भन्ने लाग्छ । तर पनि हामी गण्डकी प्रदेशमै सबै भन्दा राम्रो सुशासन भएको स्थानीयतह हौं त्यसमा हामी खुशी छौं ।
अहिले देशकै उत्कृष्ट तीनमा परियो यसलाई निरन्तरता दिन के कस्तो गर्नुहुन्छ?
– हामी देशकै उत्कृष्ट आर्थिक शुसान भएको मध्ये तीन नम्बरमा परेका छौं । यसलाई एक जनाको मात्रै प्रयासले हुने कुरा पक्कै पनि होइन । सबै जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिका भित्र भएका सबै संयन्त्रहरुले साथ दियो त्यसैले नै यो प्रकारको नतिजा सम्भव छ । त्यसमा पनि मुख्य जिम्मेवारी भनेको जनप्रतिनिधि तथा कर्मचारीकै रहन्छ । सुसासनको अध्याय तर्फको यो पाइला निकै राम्रो हो र यसलाई कायम राख्नका लागि हामीले सँधै प्रयास गर्ने नै छौं । समग्र नतिजा हेर्ने हो भने पनि जनप्रतिनिधिहरुले कर्मचारीलाई काममा दवाव भन्दा पनि सहयोगी भूमिका खेल्ने काम गरेको देखिन्छ । साथै आवश्यकता परेको अवस्थामा सल्लाहकारीय भूमिका निर्वाह गरेरै यस्तो नतिजा आएको हो भन्नेमा पक्कै पनि दुइमत छैन र आगामी वर्षहरुमा पनि यस्तै नतिजाका लागि पालिकाका सबै तह र तप्काबाट प्रयास गरिन्छ । यसलाई कायम राख्नका लागि नै सबैले मेहनत गर्नेछौं । हामीले लगाउनु पर्ने काम लगाएका छौं कर्मचारीलाई र नियम र निती संगत तबरको काम मात्र गर्न लगाएको भएरै नतिजा राम्रो आएको हो र यही नतिजाका लागि हामीले आगामी दिनमा पनि सोही अनुरुप काम गर्ने छौं । कर्मचारीहरुलाई कुनै पनि प्रकारले आर्थिक पाटोमा दवाव नदिएको र कानून सम्मत काम मात्र गरिएको कारणले गर्दा नै आर्थिक अनियमितता देखिएन अर्थात् बेरुजु देखिएन र यो प्रकारको नतिजा सम्भव भयो यो आगामी दिनमा पनि जारी राख्नका लागि प्रयास रहने छ ।
यो प्रकारको नतिजा ल्याउनका लागि क कसले भूमिका खेलेका थिए होला त?
– मुख्य भुमिका भनेको स्थानीय सरकारको प्रमुख भएको नाताले अध्यक्षको नै हुने भयो । स्थानीय तहको प्रमुख भै सकेपछि गुण वा दोष दुवैमा जिम्मेवारी लिनु पर्छ नै । कानून सम्मत निर्णय र सोहि तवरले कार्यान्वयन गर्ने तर्फ सबैले ध्यान दिएको कारणले नै भएको हो । विनियोजन कुशलताका लागि सभाको भूमिका रहने भयो। निर्णय गर्ने, निर्देशन दिने, सहजीकरण गर्ने कार्यमा कार्यपालिकाको भूमिका रहने नै भयो । अनि त्यसलाई सही ढंगबाट प्रकृया पुर्याएर कार्यान्वयन गर्ने पाटो अति महत्वपूर्ण रह्यो। यही कारणले गर्दा नै सबैको भूमिका उत्कृष्ट नै भएको हो । वित्तीय अनुशासन कायम गराउन तत्कालिन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण छ।आर्थिक प्रशासन शाखा तथा हरेक ठाउँमा जो जिम्मेवारी लिएर काम गर्ने हुनुहुन्थ्यो उहाँहरुकै प्रयास र जुन लक्ष्य सहित काम गर्नु भयो उहाँहरु सबैको भूमिकाले नै यो अवस्था आएको हो । हरेकले गर्नुपर्ने जे जिम्मेवारी हुन्छ त्यो उसैले पुरा गरेको खण्डमा नतिजा राम्रो आउने हो । हाम्रो पालिकामा पनि तत्कालिन अवस्थामा रहेका जो हुनुहुन्थ्यो उहाँहरुको महत्वपूर्ण अनि जिम्मेवार तथा शुझबुझ पूर्ण कार्य गरेकैले अहिलेको नतिजा हाम्रो पक्षमा आएको जस्तो लाग्छ ।
अन्नपूर्ण उत्कृष्ट तीनमा परेको अहिलेको अवस्था छ भने अरुले पनि बेरुजु घटाउने र शुन्य तर्फ लैजानका लागि के गर्न सकिएला ?
– सुझाबको रुपमा हेर्दा हामी कुनै हालतमा भ्रष्टाचार गर्ने पक्षमा हुदैनौं । बेरुजु कुनै हालतमा नबनोस भन्ने तबरले काम हामीले गर्दै जान्छौं यस्तै प्रयास जो कसैले पनि गर्नु भयो भने बेरुजु कम हुने गरी नतिजा निस्कन्छ । देशैभर बेरुजु शुन्य भयो भने मुलुककै आर्थिक सुसासन देखिने भएकोले पनि सबैले सकेसम्म कुनै पनि गल्ती कमजोरी बिना काम गर्ने हो भने नतिजा राम्रो आउने गर्दछ । त्यसैले हामी सबैले आफ्नो जिम्मेवारी जे हो र जे गर्न मिल्ने हो त्यस अनुसार काम गरेको खण्डमा सबै ठीक र राम्रो नतिजा आउँछ भन्ने लाग्छ ।कानूनको अक्षरश पालनाबाट, कार्यान्वयन संयन्त्रको निस्वार्थ कामबाट, निरन्तर सुधारबाट, समूह कार्यबाट यो सम्भव हुन्छ।
यो चारलाख चार हजार रहेको बेरूजु कस्तो बेरूजु छ ?
-यो खासम बेरुजु भन्दा पनि आवश्यक कागजात नपुगेको भन्ने हो । यो प्रमाण पेश गर्नुपर्ने बेरूजु हो । गत आर्थिक बर्षको अन्त्य तिर बालश्रम मुक्त स्थानीय तह घोषणा सम्बन्धी कामका लागि संघीय सरकारबाट हस्तान्तरण भएको रकम मध्ये दुई लाख ९० हजार पेश्की थियो, जुन फछ्र्याैट भइसकेको छ । विपदको समयमा वडास्तरबाट मोटरबाटो सरसफाई कार्य गरेका २ वटा कम्पनीको करचुक्ता गर्न बाँकी ननफिलर केस हो । प्रदेश सरकारलाई मेलामहोत्सव वापतको मनोरञ्जन कर ४३ हजार पठाउन बाँकी रहेको थियो । खासमा हाम्रो बेरुजु भनेको तीन हजार आठ सय १४असुल गर्नुपर्ने देखिएको छ ।