Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»राष्ट्रिय»सीमा क्षेत्रमा कडा सुरक्षा निगरानी
    राष्ट्रिय

    सीमा क्षेत्रमा कडा सुरक्षा निगरानी

    Amrit BaskuneBy Amrit BaskuneMay 10, 2025No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भारतको काश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअधि आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको छ । पछिल्ला घटनक्रमपछि समग्र सुरक्षाको विषयमा आमचासो हुनुका साथै  विभिन्न विश्लेषण भइरहेका छन् ।

    क्षेत्रीय सुरक्षामा देखिएका पछिल्ला घटनाक्रमपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकालगायत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवतजावतमाथि उच्च सुरक्षा निगरानी बढाएको छ । दुई देशबिचको तनावले तत्काल नेपालको राष्ट्रिय सुरक्षामा कुनै ठुलो असर नपर्ने भए पनि द्वन्द्व बढ्दै गएमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा त्यसको असर पर्न नदिन सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । सैन्य तथा आणविक शक्तिराष्ट्रबिचको तनाव बढदै जाँदा सम्भावित क्षेत्रमा निगरानी बढाइएको छ । दुई मुलुकबिच युद्ध नै हुने अवस्था तत्काल नरहे पनि तनाव शान्त नभएसम्म राष्ट्रिय सुरक्षाका कम्पोनेन्टलाई असर पार्ने भएकाले सोही अनुसारको पूर्वतयारी र सतर्कता अपनाउन विज्ञले सुझाएका छन् ।

    राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भारत र पाकिस्तानीबिचको तनावले नेपालको राष्ट्रिय सुरक्षामै तत्काल असर नपर्ने तर आर्थिक, पारवहन र पर्यटन क्षेत्रमा भने असर पर्न सक्ने बताउनुहुन्छ ।

    शर्मा भन्नुहुन्छ, “भारत–पाकिस्तानबिच तनावको मुख्य कारण अप्रिल २२ मा काश्मीरमा गरिएको आतङ्कवादी हमला हो । सो निन्दनीय घटनामा आतङ्कवादीले हिन्दु युवालाई मात्र जसरी निसानामा पारे त्यसको जवाफमा भारतले आतङ्कवादीमाथि निसाना गरेको हो । यसलाई पाकिस्तानमाथिको आक्रमणका रूपमा मात्र बुझ्न हुँदैन ।” उहाँले दुई देशबिचको तनाव अरू बढ्दै गएमा आतङ्कवादीले नेपालको सिमाना दुरुपयोग गर्न सक्ने भएकाले नेपालका सुरक्षा निकाय निकै चनाखो हुनुपर्ने बताउँदै गैरनागरिकको नेपाल आगमनलाई सूक्ष्म निगरानी गरी उनीहरूका सम्पूर्ण सूचना लिनुपर्ने बताउनुभयो ।

    उहाँले नेपालसँग रहेका खुला सिमानामा सुरक्षाको चुनौती बढी हुने हुनाले पहाडी क्षेत्रलगायत जगेडामा रहेको सुरक्षाकर्मी सीमा क्षेत्रमा परिचालन गर्नुपर्ने र सुरक्षा निकायले नागरिकसँग सम्बन्ध सुधार गरी सूचना प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । भारत र पाकिस्तानले एकअर्का देशका नागरिकलाई देश निकाला गर्ने निर्णय गरिसकेको र बर्सौंदेखि एकअर्काको देशमा रहेका गौरनागरिक फर्किन असहज हुँदा खुला सिमाना भएका कारण नेपालतर्फ प्रवेश गर्ने सम्भावना रहेकाले सुरक्षा सतर्कता बढाउनुपर्ने शर्माले बताउनुभयो । यसका साथै उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनमा पनि विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    रणनीतिक सुरक्षाका जानकार नेपाली सेनाका पूर्वरथी नेपाल भूषणचन्द भारतले पकिस्तानमाथि नभई आतङ्कवादीमाथि कारबाही सुरु गरेको बताउनुहुन्छ । चन्द भन्नुहुन्छ, “काश्मीरको पहलगाममा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना निर्दोष हिन्दु पर्यटकको जसरी हत्या भयो, भारतले पूर्वघोषित रूपमा नै यसको उचित जवाफ दिने बताइसकेको थियो । भारतको कारबाही पाकिस्तानमाथि भन्दा आतङ्कवादलक्षित देखिन्छ ।”

    उहाँले दुई देशबिच तनाव बढ्दै गएर युद्धको अवस्था सिर्जना भएमा नेपाललगायतका छिमेकी मुलुकमा आर्थिक, सामाजिक, सुरक्षालगायतका विषयमा प्रत्यक्ष असर पर्ने र यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।

    उहाँ दुई देशबिच तनाव बढ्दै गए नेपाललले कूटनीतिक तटस्थता कायम गरी दुवै मुलुकलाई शान्तिपूर्ण अवस्थामा फर्काउन पनि पहल गर्नुपर्ने बताउहुन्छ । विशेष गरी भारत–पाकिस्तान द्वन्द्वका कारण भारत बसेर उग्रवादी गतिविधि गरिरहेका हुन सक्ने कतिपय समूहसमेत नेपालतिर मोडिन सक्ने सम्भावना रहेकाले उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सुझाव सुरक्षाविज्ञहरूको  छ ।

    पाकिस्तानविरुद्ध सैनिक कारबाही ‘अपरेसन सिन्दूर’ सुरु गरेलगत्तै भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई ‘उच्च सतर्कता’ बढाइएको छ । भूपरिवेष्ठित नेपाललाई तीन दिशाबाट भारतले घेरेको छ । दुई देशबिच करिब एक हजार आठ सय किलोमिटर खुला सिमानामा प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।

    पाकिस्तानमा रहेका आतङ्कवादी समूहहरू लुकिछिपी नेपाल प्रवेश गर्ने र भारतमाथि आक्रमण गरे नेपालमाथि ठुलो सुरक्षा चुनौती बढ्ने भएकाले सुरक्षा मजबुती अपनाइएको छ ।

    उच्च सुरक्षा सतर्कता 

    विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकामा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीका अनुसार नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय खुला सीमाको दुरुपयोग नहोस् र गैरकानुनी आगमन नहोस् भनी पूर्वसचेतना अपनाइएको छ ।

    सीमा सुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठलाई रोक्नका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदानप्रदानलाई तीव्रता दिएको छ । सशस्त्र प्रहरी बलले आठ सय ४४ स्थानमा चेक प्वाइन्ट चेकजाँच सुरु गरेको जनाएको छ ।

    प्रवक्ता धौबजीले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीका एक ‘बोर्डर आउट पोस्ट’ (बिओपी) बाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ सुरु गरिएको जानकारी दिनुभयो ।

    अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ ।

    सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुन सक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सीमा भएर आउजाउ गर्नेमाथि कडा निगरानी गरिएको छ ।  नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजीकरण पनि गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रमेश थापाले सम्भावित सुरक्षा अवस्थाको आकलन गरी सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

    भारत – पाकबिचको आक्रमण प्रत्याक्रमबाट हालसम्म पाकिस्तानतर्फ ३१ जना र भारततर्फ १५ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी रिपोर्टमा इन्डियन मुजाहिद्दीन (आइएम) नामक समूह भारत, नेपाल र पाकिस्तानमा सक्रिय रहेको उल्लेख गरेको थियो । भारतमा हुने आतङ्कवादी हमलामा यिनै समूहको हात रहेको भारतीय पक्षको आरोप छ ।  गोरखापत्रबाट

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    एसइई नतिजा तयारी, उत्तरपुस्तिका परीक्षण रातिसम्मै

    May 10, 2025

    मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

    May 8, 2025

    पाँच करोड लगानीमा निर्मित अस्पताल भवन अलपत्र

    May 6, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.